काठमाडौँ, १ मङ्सिर । नेपाली काँग्रेस र सङ्घीय गठबन्धनबीच संविधानका अन्तर्वस्तुका विवादित विषयमा सहमति गरेर छिट्टै व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको छ ।
काँग्रेस संसदीय कार्यालय सिंहदरबारमा आज साँझ भएको बैठकमा काँग्रेस र गठबन्धनका नेताका अनुसार संविधानमा संशोधन गर्ने विषयमा सकारात्मक छलफल भएको र चाँडै संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको हो । उपप्रधानमन्त्री विमलेन्द्र निधिले गठबन्धनसँगको छलफल सकारात्मक भएको बताउँदै चाँडै सहमति गरेर संशोधनको प्रस्ताव दर्ता गर्ने सहमति भएको जानकारी दिनुभयो । ।
बैठकमा गठबन्धनका नेताले काँग्रेसलाई संविधान संशोधनको प्रस्ताव चाँडो दर्ता गराउन आग्रह गरेका थिए । काँग्रेसले नेकपा(एमाले)सँग सहमति लिन समय लागेकाले संशोधनको प्रस्ताव लैजान ढिलो भएको जवाफ दिएको र अब छिट्टै प्रस्ताव दर्ता गरिने विश्वास दिलाएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै गठबन्धनका नेता तथा सङ्घीय समाजवादी फोरम नेपाल संसदीय दलका नेता अशोककुमार राईले काँग्रेसका नेतासँग भएको छलफल सकारात्मक भएको र छिट्टै निष्कर्षमा पुगिने बताउनुभयो ।
यसअघि गठबन्धनले संविधान संशोधन प्रस्ताव दर्ताका लागि सरकारलाई १५ दिनको समयसीमा दिएको थियो । संविधान जारी भएसँगै गठबन्धनले प्रदेशको सीमाङ्कन, नागरिकता, भाषा आयोग लगायत विषयमा विमति राख्दै संशोधनको माग गर्दै आएको छ ।