न्युयोर्क, ३ मङ्सिर । जापानका प्रधानमन्त्री सिन्जो आबेले बिहीबार अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको कूटनीतिप्रति विश्वास व्यक्त गर्नुभएको छ । गत नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित हुनुभएपछि विदेशी नेतासँग ट्रम्पको प्रत्यक्ष भेटवार्ता भएको यो नै पहिलो हो ।
राष्ट्रपति ट्रम्पले आफ्नो सरकारको मन्त्रीमण्डल बनाउने विषयमा तयारी भइरहेको अवस्थामा प्रधानमन्त्री आबेले उहाँलाई भेटेर यस्तो विश्वास व्यक्त गर्नुभएको हो । जापानी प्रधानमन्त्री आबेले नवनिर्वाचित राष्ट्रपति ट्रम्पसँग करिब ९० मिनेट भेटवार्ता गर्नुभएको सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।
भेटवार्तापछि पत्रकारहरुसँग जापानी प्रधानमन्त्री आबेले भन्नुभयो – “निकै उपलब्धिमूलक भेटवार्ता भयो, ट्रम्प साँच्चिकै राम्रो नेता हुनुहुँदोरहेछ भन्ने महसुस गरेँ ।” न्यानो वातावरणमा भएको भेटवार्ताले विश्वासको सम्बन्ध विस्तार गरेको आबेको बताउनुभएको छ ।
उहाँले दुई नेताबीच पुनः व्यापक विषयमा गहिरो संवाद गर्ने सहमति भएको जनकारी दिनुभयो ।
दोस्रो विश्वयुद्धपछि अमेरिका र जापान एक अर्काका प्रमुख सहयोगी मुलुकका रुपमा रहँदै आएका छन् । दोस्रो विश्वयुद्ध यता जापानको आर्थिक अवस्था पुनः उकास्नका लागि अमेरिकाको ठूलो सहयोग छ ।