टोकियो, ७ मंसिर । जापानमा मङगलबार बिहान शक्तिशाली भूकम्प आएको छ । सो भूकम्पले जापानको उत्तरपश्चिमी क्षेत्र फुकुसिमामा बढी प्रभाव पारेको बताइएको छ ।
प्रारम्भिक सूचनाअनुसार उक्त भूकम्पबाट अहिलेसम्म त्यति ठूलो क्षति पुगेको छैन । दुई जना घाइते भएका बताइएको छ ।
मङ्गलबार बिहान ६ बजे भूकम्पको शक्तिशाली धक्का महसुश गरिएको समाचारमा जनाइएको छ ।
धक्कापछि लगत्तै फुकुसिमा र सो वरपरका क्षेत्रहरु मियागी, इवाता, आवोमोरीलगायतमा उद्धारका लागि सूचना जारी गरिएको थियो ।
त्यसलगत्तै आवोमोरी क्षेत्रमा सुनामी आएको थियो । जापानी भूगर्भ तथा जलवायू विभागले १.४ मीटरको सुनामी देखिएको जनाएको छ ।
सो कारणले गर्दा उक्त क्षेत्रमा सुनामीको खतराको सूचना दिइएको समाचारमा जनाइएको छ । तर पछि भने सुनामीको असर देखा परेको छैन ।
भूकम्पपछि मङ्गलबार बिहान कैयौँ पराकम्पनको महसुश गरिएको छ । ती पराकम्पनका कारण पनि सुनामीको खतरा खतराको सूचना हटाइएको छैन ।
सो भूकम्प १० किलोमीटर मात्र गहिराइमा आएको उक्त एजेन्सीले जनाएको छ । ती प्रभावित क्षेत्रबाट अहिले बस्ती खाली गराइएको छ । र उनीहरुलाई सतर्कताका साथ रहन भनिएको छ ।
अधिकारीहरुले उद्धारको कार्य गरिरेहका छन् । साथै क्षतिको पूर्ण विवरण आउन बाँकी नै रहेको उनीहरुले बताएका छन् ।
भूकम्पको धक्कापछि फुकुसिमाको एक पेट्रोलियम केन्द्रमा आगलागी भएको थियो । सो केन्द्रमा आगोलागेपछि त्यस वरपरका करिब ११ सय घर प्रभावित भएका छन् ।