महोत्तरीको वथनाहास्थित श्री हनुमान विश्वनाथ जनता सरकारी प्राथमिक विद्यालयका बालबालिकाहरू बर्षौदेखि खुल्ला अकाशमुनि पढ्न बाध्य भएका छन् । तस्वीर ःधनवीर महतो, रासस, महोत्तरी
महोत्तरी, ९ मङ्सिर । महोत्तरीको बथनाहा गाविस–६ मा रहेको हनुमान विश्वनाथ जनता प्राथमिक विद्यालयका बालबालिका खुल्ला आकासमुनि पढ्न बाध्य छन् ।
जिल्लाकै बिकट एवम् सीमावर्ती क्षेत्रमा विसं २०१० मा स्थापित यस विद्यालय भवन पुनःनिर्माण हुन नसक्दा वर्षा र जाडोको शीतलहरमा विद्यालयका विद्यार्थी खुल्ला आकासमुनि अध्ययन गर्न बाध्य भएका हुन् ।
दलित मुसहर र मुस्लिम समुदायका दुई सय २२ विद्यार्थी अध्ययनरत सो विद्यालयको अवस्था दयनीय हुँदासमेत जिल्ला शिक्षा कार्यालयको नजर पर्न सकेको छैन ।
जिल्लामा तीव्र गतिमा खुल्ला दिसामुक्त अभियान जारी रहेको समयमा सो विद्यालयमा चर्पी पनि जीर्ण छ भने प्राङ्गणमा रहेको खानेपानीको पम्पसमेत बिग्रिएको छ ।
पानी पर्दा र चिसो अत्यधिक रुपमा बढेर बस्न असहज रहेको अवस्थामा पनि आफूहरुले पढाइलाई निरन्तरता दिँदै आएको कक्षा ५ मा अध्ययनरत छात्र धनोजकुमार राउतको भनाइ छ ।
खानेपानीका लागि गाउँमा भौँतारिनुपर्छ भने चर्पी पुरानो भएका कारण दिसापिसाबका लागि समस्या भएको कक्षा ५ मा अध्ययनरत अर्की छात्रा आशा कुृमारीले बताईन ।
विद्यालयमा चार शिक्षकको दरबन्दी रहेकामा दुईजना मात्र कार्यरत छन् अन्य दुईजना अन्यत्रै काजमा खटिएको प्रधानाध्यापक तीर्थनाथ झाले बताउनुभयो ।
विद्यालयको दुईवटा ब्लकमा पर्खाल मात्र छ तर छाना र ढोका छैन । अर्को एक ब्लकमा छाप्रो छ तर पर्खाल भने छैन । बाल विकासको एउटा कोठामा कार्यालय सञ्चालनमा छ भने अर्को कोठालाई भण्डार कक्ष बनाइएको छ ।