काठमाडौँ, १३ मङ्सिर । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान कार्यान्वयनका विषयमा प्रमुख तीन राजनीतिक पार्टीका शीर्ष नेतासँग आज छलफल गर्नुभएको छ ।
प्रधानमन्त्री एवम् नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संविधान कार्यान्वयन गर्ने क्रममा संशोधनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने विषयमा छलफल गर्नुभएको हो ।
राष्ट्रपति कार्यालय शीतल निवासमा साँझ भएको भेटवार्तामा संविधान कार्यान्वयनलाई प्रभावकारी बनाउने विषयमा प्रमुख तिन दलका शीर्षस्थ नेतासँग सामूहिक छलफल भएको राष्ट्रपतिका स्वकीय उपसचिव दीपा शर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार राष्ट्रपति भण्डारीले आजै सङ्घीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवसँग पनि संविधान कार्यान्वयनका विषयमा छलफल गर्नुभएको थियो ।
केही दिनयता राष्ट्रपतिले मधेस केन्द्रित राजनीतिक दलका नेतासँगको छलफललाई तीव्र बनाउँदै आउनुभएको छ । संविधान संशोधनका विषयमा उठेका विषयलाई कसरी निष्कर्षमा पुरयाउन सकिन्छ भन्ने विषयमा छलफल केन्द्रित रहेको बुझिएको छ ।