मस्को (रसिया), २८ मङ्सिर । रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफू अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पसँग कुनै समयमा भेट्ने तयारीमा रहेको बताउनुभएको छ ।
सञ्चारकर्मीद्वारा रसियाली राष्ट्रपति पुटिनलाई ट्रम्पसँग भेट्नसक्ने सम्भावनाबारे सोधिएको प्रश्नमा पुटिनले हामी कुनै समयमा भेट्न तयार छौँ । हाम्रोतर्फंबाट कुनै समस्या छैन, भन्नुभएको कुरा क्रेमलिनद्वारा मङ्गलबार सार्वजनिक गरिएको अन्तरवार्ताको प्रतिलिपिमा जनाइएको छ ।
अन्तरवार्तामा पुटिनले भन्नुभएको छ, “यो सबैमा जगजाहेर छ कि अमेरिकी राष्ट्रपतिमा निर्वाचित नेता ट्रम्पले सार्वजनिक रुपमा रसिया र अमेरिकाबीचको सम्बन्ध समान्यीकरण गर्ने कुरा बोल्नुभएको छ । हामी यो गर्न त सक्दैनौँ तर यसको समर्थन गर्छौँ ।”
“हामीलाई थाहा छ अमेरिका र रसियाको सम्बन्ध कुन हदसम्म बिग्रीएको छ र यसलाई सामान्यीकरण गर्ने कुरा सामान्य काम हुने छैन । तर हामी हाम्रो तर्फबाट केही गर्न तयार छौँ, पुटिनले भन्नुभयो ।
उहाँलेसन् २०१७ को जनवरी अर्थात् ट्रम्पको सत्तारोहणपछि दुई नेताबीच भेट हुने सम्भावना व्यक्त गर्नुभयो ।