चौतारा, ६ पुस । गत वर्षको भूकम्पदेखि बन्द तातोपानी नाका चाँडै खुलाउन चीन सरकारले प्राथमिकतामा दिएकाले सोबारेमा केन्द्रस्तरमा पहल गरिने चिनियाँँ पक्षले जनाएाके छ ।
नेपाल र चीनबीच आज चौतारामा सम्पन्न सीमा सुरक्षा बैठकका क्रममा चिनियाँ पक्षले भूकम्पबाट तिब्बती क्षेत्रमा पनि सडकलगायत भौतिक सम्पत्तिको ठूलो क्षति भएकाले क्षतिग्रस्त सडक पुनःसञ्चालन भएपछि चाँडै नाका खोलिने जनाएको छ ।
त्यसैगरी चीनको न्यालम काउन्टी र सिन्धुपाल्चोकबीच भगिनी सम्बन्ध विकास गरिने चिनियाँँ पक्षको भनाइ रहेको प्रजिअ अन्तरबहादुर सिल्वालले राससलाई बताउनुभयो । बैठकमा सीमा क्षेत्रमा हुने तस्करी तथा आपराधिक क्रियाकलाप रोकथाममा पहल गरिने र सिमा क्षेत्रमा आगलागी भएमा दुवै देशबाट रोक्न पहल गरिने समझदारी भएको छ ।
सिन्धपाल्चोकका प्रजिअ सिल्वालको नेतृत्वमा भएको सो बैठकमा स्थानीय विकास अधिकारी कृष्णबहादुर शाही, दोलखा जिल्लाका प्रजिअ यज्ञराज बोहरा तथा सुरक्षा निकायका प्रमुखलगायत जिल्ला सुरक्षा निकायका प्रमुखको सहभागिता थियो । चिनियाँँ पक्षबाट न्यालम काउन्टीका पेङ लु वीको नेतृत्वमा विदेश विभाग, भन्सार, वाणिज्य तथा व्यापार, अध्यागमन कार्यालय, प्रहरीलगायतको सहभागिता थियो ।