काठमाडौँ, १२ पुस । ग्यास विक्रेता महासङ्घ नेपालले पेट्रोलियम उत्पादन तथा ग्यासको कारोवार व्यवस्थित गर्न पेट्रोलियम कानुनको माग गरेको छ ।
दैनिक उपभोग्य अत्यावश्यक वस्तुका रुपमा रहेका ती उत्पादनको कारोवारमा अन्तर्राष्ट्रिय बजारमा परिवर्तन नभई अनावश्यक हुने मूल्य वृद्धिले उपभोक्तालाई मार परेको महासङ्घले जनाएको छ ।
आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घका अध्यक्ष ज्ञानेश्वर अर्यालले पेट्रोलियम कानुनको अभावमा केही व्यवसायीले कालोबजार गरिहेकाले त्यसको नियन्त्रण गर्न सरकारलाई आग्रह गर्नुभयो ।
उहाँले अहिले मुलुकमा ग्यासको कुनै पनि अभाव नरहेको बताउँदै केही व्यवसायीले कृतिम अभाव सिर्जना गरिरहेको जानकारी गराउनुभयो ।
महासङ्घका महासचिव चन्द्रबहादुर थापाले तालिम प्राप्त डिलरलाई मात्र ग्यास बिक्रीको इजाजत दिनुपर्ने बताउँदै उपभोक्तालाई लाभ पुग्ने विषयमा देशभर सचेतना कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।
महासङ्घले देशभर रहेका व्यवसायीका डिलर प्रमाणीकरण प्रक्रिया अगाडि बढाउनुपर्ने, ग्यासमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज गर्नुपर्ने, डिलर कमिसन लगानीको पाँच प्रतिशत हुनेगरी वृद्धि गर्नुपर्नेलगायत माग गरेको छ ।