बेरुत (लेबनान), १९ पुस । सिरियाली राष्ट्रपति बसर अल असद पक्षधर प्रशासनले चार दिन अघिदेखि लागू गर्ने गरी भएको सरकार र विद्रोहीबीचको सम्झौतालाई उल्लङ्घन गरेको आरोप लगाएका छन् ।
विद्रोहीले राजधानी दमास्कस वरपरका क्षेत्रमा लगातार आक्रमण जारी राखेको भन्दै नयाँ शान्ति वार्ताको पहलका लागि गरिने भनिएका वार्ता अवरुद्ध हुनसक्ने चेतावनी समेत दिएका छन् ।
रसिया र टर्कीको मध्यस्थतामा गरिएको युद्धबिराम सम्झौताअनुरुप यसै महिनामा काजकिस्तानको राजधानी अस्तानामा शान्ति वार्ताका लागि संयुक्त राष्ट्रसङ्घको मध्यस्थतामा थप छलफल बढाइने कार्यक्रम छ ।
युद्धबिरामले द्वन्द्वग्रस्त सिरियाको अधिकांश भूभागमा राहतको महसुस भए पनि दमास्कसबाट उत्तरमा रहेको वादीवारादा क्षेत्रमा झडपका घटना भइरहेको बताइएको छ ।
यसमा करिब एक दर्जन सिरियाली विद्रोही समूहबाट सरकारलाई दोषी देखाउँदै सम्झौता उल्लङ्घन गर्ने कार्यमा असद प्रशासनले प्रोत्साहन गरेको जनाएका छन् ।
वादीवारादा दमास्कसको खानेपानीको मुख्य स्रोत क्षेत्र हो ।
सिरियाली सरकारद्वारा संरक्षित लेबनानी हेजबुल्लाह समूहले दुई हप्तादेखि विद्रोहीविरुद्ध कारबाही जारी राखेको छ । यद्यपि सिरियामा सन् २०१६ को डिसेम्बर ३० देखि लागू हुनेगरी युद्धबिराम सम्झौता गरिएको थियो ।
सोमबार राति एक विज्ञप्ति जारी गरी उक्त समूहले अस्टानामा हुने भएको सरकार, राष्ट्रसङ्घ र विद्रोहीबीचको त्रिपक्षीय वार्ता प्रभावित हुनसक्ने जनाएका छन् । विज्ञपितमा यदि स्थिति शान्तिपूर्ण नभएमा युद्धबिराम सम्झौता आफूहरुका लागि अमान्य हुने चेतावनी दिइएको छ ।
बेलायतस्थित सिरियाली मानवअधिकार संस्थाले युद्धबिरामपछि पनि मङ्गलबारसम्म वादीवारादा क्षेत्रमा झडप भइरहेको जनाएको छ ।
संस्थाले सरकारी पक्षबाट उक्त क्षेत्रमा अझै पनि हेलिकोप्टरबाट बमबारी भइराखेको जनाएको छ ।
यसैबीच सरकारी पक्षले विद्रोहीले दमास्कसको खानेपानीको मुख्य स्रोतमा विभिन्न संरचनामाथि आक्रमण गरी खानेपानीमा इन्धनलगायतका अखाद्य तत्व मिसाउने गरेको दाबी गरेको छ ।