काठमाडौँ, १६ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधन, स्थानीय निकायको निर्वाचनलगायत विषयमा दलीय परामर्श गर्नुहुने भएको छ ।
प्रधानमन्त्रीले सोमबार बिहान सत्ता साझेदार दल नेपाली काँग्रेस र मधेसी मोर्चासहितको गठबन्धनलाई छलफलका लागि बोलाउनुभएको हो ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजे बोलाइएको बैठकमा संसद्मा दर्ता भएको संविधान संशोधन विधेयक, स्थानीय निकायको निर्वाचन आदि विषयमा छलफल हुने प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
संविधान संशोधनलगायत विषयमा छलफल गर्न प्रधानमन्त्रीले मोर्चालाई बालुवाटार बोलाउनुभएको मोर्चाको एक घटक राष्ट्रिय मधेस समाजवादी पार्टीका महासचिव केशव झाले राससलाई जानकारी दिनुभयो ।
उहाँले संशोधनको टुङ्गो नलागेसम्म कुनै पनि निर्वाचनको अर्थ नहुने भन्दै मोर्चाले बैठकमा यिनै विषयमा जोड दिने बताउनुभयो ।