शूर्पणखा अर्थात् लामा र ठूला नङ्ग भएकी केटी । शूर्पणखा अर्थात् रामायणमा रावणकी बहिनी । शूर्पणखा अर्थात् कविवर गोविन्दराज विनोदीद्वारा लिखित खण्डकाव्य । शूर्पणखा अर्थात् यतिखेर मेरो हातमा रहेको त्यो पुस्तक, जसले मलाई केही लेख्नका लागि घच्घचाइरहेको छ ।
रामायणमा राम, रावण, लक्ष्मण, सीतालाई नचिन्ने कमै मानिस छन् तर उनीहरुसंगै जोडिएकी एक पात्र छिन् शूर्पणखा, जसको बारेमा धेरै कमलाई थाहा छ । तिनै अपहेलित र मिथक अनुसार नकरात्मक ठानिएकी शूर्पणखालाई न्याय दिनका लागि कवि विनोदीले एउटा खण्डकाव्य लेख्नु भएको छ । म त्यही खण्डकाव्य हेर्दै शूर्पणखाकै जीवनको सेरोफेरोमा अलमलिइ रहेको छु । रामायणको कुरा । शूर्पणखाको उमेर पुगेपछि कुनै एक पुरुषसँग बिहे भएको थियो । तर दुःखको कुरा बिहेपछि सुहागरात पनि मनाउन नपाउँदै उनको पतिको मृत्यु भयो । शूर्पणखा जवान थिइन् । उनीभित्र दमित प्रेम र यौनको चाहना थियो ।
एकदिन शूर्पणखाले रामलाई देखिन् । राम जवान र आकर्षक थिए । रामलाई देख्ने बित्तिकै मन पराइन् उनले । उनलाई पहिलो नजरमा नै प्रेम भएजस्तै भयो रामसंग । तर, त्यो प्रेम उनको एकतर्फी थियो । रामले उनलाई मन पराएका थिएनन् । उनको प्रेम मनभित्रै बाँधिएर बस्न सकेन । उनले रामलाई भेटिन् र प्रेम प्रस्ताव राखिन् । रामको एउटा समस्या थियो । उनी सीतासँग पहिले नै बिबाहित थिए । शूर्पणखाले रामलाई यतिधेरै मन पराएकी थिइन् कि उनलाई पाउन उनी जे गर्न पनि तयार थिइन् । त्यो समयमा बहुपत्नी प्रथा प्रचलित थियो । उनले आफ्नो सन्दर्भमा पनि त्यही प्रथालाई स्वीकार गर्ने विचार गरिन् । ‘म सीताको सौता बनेर भित्रिन तयार छु ।’ उनले भनिन् रामलाई । तर रामले उनको कुरा मानेनन् । उनले भने, ‘मबाट त्यो हुंदैन । बरु लक्ष्मण अविवाहित छन् । उनीसंग एकपटक कुरा गर ।’
शूर्पणखा लक्ष्मण कहाँ पुगिन् । तर लक्ष्मणले कुनै आशक्ति देखाएनन् । शूर्पणखाको लक्ष्मणसंग बिहे हुने सम्भावना देखिएन । त्यसपछि उनले फेरि रामलाई भेटिन् र आफ्नो इच्छा प्रकट गर्दै बिहेको प्रस्ताव राखिन् । तर रामले मानेनन् ।
शूर्पणखाको मनमा बिस्तारै सीताप्रति ईश्र्या भाव पैदा हुंदै गयो । उनको रामप्रतिको आशक्ति घटेन । एकदिन लक्ष्मणले शूर्पणखाको बेइज्जत गरे । रामकै आज्ञाले शूर्पणखाको नाक र कान काटियो । शूर्पणखाले त्यो बेइज्जतीको बदला लिने निर्णय गरिन् । उनले त्यसको लागि रावणको सहयोग मागिन् । सोही अनुरुप रावणले सीतालाई हरण गरेर लगे । रामायणमा नकरात्मक पात्रको रुपमा चर्चा गरिएकी पात्र शूर्पणखालाई मूल पात्र बनाएर उनीभित्रको मनोबिज्ञान र रामायणका घटना र परिस्थितिलाई उनको दृष्टिबाट प्रस्तुत गरिएको छ कृतिमा । पद्यमा लेखिएको काव्यमा कवि विनोदीका अन्य काव्यकृतिमा जस्तै कलात्मक अभिव्यक्ति र काव्यिक मिठास पाइन्छ ।
काव्यको पहिलो श्लोकले नै तान्छ पाठकलाई ।
के भो के भो मनभरि मिठो आह उर्लेर आयो
आफूभित्रै अति रहरिलो चाह उर्लेर आयो
आफ्नै छायासित विजनमा आज बोलुं कि जस्तो
हेरी आफ्नै तन जलधिमा लाज खोलुं कि जस्तो ।
शूर्पणखाको जवानी र चाहनाको झल्को दिलाउँदै कवि विनोदी लेख्नु हुन्छ –
खाउं सिङ्गै भुवन कि अहो भोक लागेर आयो
सारा सारा जलधि पिउने प्यास लागेर आयो ।
शूर्पणखा काव्यको बारेमा त्रिवेणी साहित्य परिषद्का अध्यक्ष तथा समालोचक प्रा.डा. नारायणप्रसाद खनाल लेख्नुहुन्छ, ‘सानो आकारमा रचिए पनि यसले उठाएको नारी बेदना, नारी अधिकार र नारी चेतनाको बिषय वर्तमानमा प्रत्येक मानवअधिकारकर्मी र यसका उपभोक्ताले चाहेकै मध्ये पर्दछ ।’
समालोचक डा. लक्ष्मणप्रसाद गौतम लेख्नु हुन्छ, ‘पूर्वीय मिथकमा नकरात्मक रुपमा मानिएकी नारीचरित्रलाई काव्यकी नायिका बनाएर कवि विनोदीले नारीका बाह्यआन्तरिक चरित्रको सुक्ष्म निरीक्षण गरेका छन् र यो काव्य यसै आधारमा पनि कवि विनोदीको शक्तिशाली काव्य–कलाकारिता हो ।’
काव्यको भूमिकामा निर्मोही व्यास लेख्नु हुन्छ, ‘शूर्पणखा र सीता दुबै नारीप्रतिको अखण्ड सहानुभूति तथा मानवीय संवेदनाप्रतिको प्रबल पक्षधरता यस काव्य–कृतिको प्राण हो ।’
काव्यमा शूर्पणखाको मनोविज्ञान पनि सुक्ष्म रुपमा प्रस्तुत छ । रामलाई मन पराएकी शूर्पणखाले सीताप्रति ईश्र्या राख्नु मनोबैज्ञानिक रुपमा हेर्दा स्वभाविक देखिन्छ । त्यस्तै मूल कथामा शूर्पणखाको नाक र कान काटिएको भए पनि कविले यस कृतिमा उक्त दृश्यलाई सांकेतिक रुपमा प्रस्तुत गर्नु भएको छ ।
समग्रमा हेर्दा, काव्यले रामायणमा शूर्पणखासंग सम्बन्धित घटनालाई शूर्पणखाको दृष्टिकोणबाट प्रस्तुत गरेको छ । कवि विनोदीको कलात्मक काव्यिक कौशलताले कृति उत्कृष्ट बनेको छ ।