‘हाइली स्किल्ड शब्दले पर्न गएको असरप्रति क्षमाप्रार्थी छु’- तेजेन्द्र फेराली, अध्यक्ष, सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युके
पाल्पाका तेजेन्द्र फेराली अहिले लण्डनको युनिभर्सिटी अफ लण्डनमा सिनियर लेक्चरर छन् । लिभरपुल जोन मुर्स युनिभर्सिटीबाट विद्यावारिधि गरेका उनी ‘हाइली स्किल्ड’ नेपालीहरुको संस्था सोसाइटी अफ नेपलिज प्रोफेसनल्स, युकेको अध्यक्ष छन् । ‘हाइली स्किल्ड’ नेपालीहरुले अरुलाई मान्छे गन्दैनन् भन्ने आरोप यदाकदा लाग्ने गरेकोमा अहिले उनको नेतृत्वमा सो संस्थाको नाम अहिले फेर्न लागिएको छ । प्रस्तुत छ उनीसित गरिएको कुराकानीको सारसंक्षेप
सोसाइटी अफ नेपलिज प्रोफेसनल्स युके भनेको कस्तो संस्था हो र यसले के काम गर्छ ?
नेपालबाट सन् २००० को दशकमा कामका लागि हाइली स्किल्ड माइग्रेन्ट प्रोगामअन्तर्गत धेरै नेपालीहरु युके आउनुभयो । नेपालबाट युकेमा आएर काम शुरु गर्दा, भिजा एक्सटेन्सन गर्ने, रहने-बस्ने, जब सेक्युर गर्ने क्रममा आइपर्ने चुनौतीलाई सामूहिक रुपमा कसरी जुध्ने भन्ने सन्दर्भमा हाम्रो संस्थाको स्थापना भएको हो । अहिले त्यो प्रोग्राम बन्द भयो र नेपालबाट आउने क्रम छैन । यो सोसाइटीले सो कार्यक्रमअन्तर्गत आएका साथीभाइ र उनीहरुको परिवार सबैलाई समेट्छ । गत एक-दुई वर्षदेखि हामी यो संस्थाको भविष्यको विषयमा सोच्दैछौँ । यस सोसाइटीभित्र हाम्रा बच्चाहरुको बारेमा गम्भीर भएर सोच्ने, नेपालका विभिन्न क्षेत्रको विकासका बारेमा गम्भीर रुपमा चिन्ता गर्ने र युकेको नेपाली समाजमा भविष्यमा आउन सक्ने सामाजिक इस्युहरुका बारेमा विमर्श गर्ने गरिएको छ ।
यसमा कति सदस्य हुनुहुन्छ ?
यो सोसाइटीको नेटवर्कमा करिब २५० साथीहरु हुनुहुन्छ । त्यसमध्ये लगभग १०० जना सक्रिय हुनुहुन्छ ।
तपाईहरुको यो संस्था साउथ इष्ट लण्डनमा मात्र केन्द्रीत हो कि युकेभर छ ?
यो संस्था युकेभर भएका साथीभाइको नेटवर्क हो । समितिमा बस्ने साथीहरु साउथ इष्टमा बस्ने भएकाले यस्तो देखिएको होला तर समितिमा युकेका विभिन्न स्थानमा बसोबास गर्ने साथीहरु हुनुहुन्छ । धेरै नेपालीहरुको क्लष्टर साउथ इष्टमा भएकाले पनि यसको गतिविधि यतातिर देखिएको होला ।
यो संस्थाको नाम सोसाइटी अफ हाइली स्किल्ड प्रोफेसनल्स थियो । तपाईहरु आफैँले आफैँलाई ‘हाइली स्किल्ड’ भन्नुहुन्छ अनि अरु नेपालीहरुलाई गन्नुहुन्न भन्ने आरोप थियो । अहिले संस्थाको नाम परिवर्तन गर्नुको कारण त्यो पनि हो कि ?
महत्वपूर्ण प्रश्न गर्नुभयो । हाम्रो ऐतिहासिक पृष्ठभूमि ‘हाइली स्किल्ड माइग्रेन्ट प्रोग्राम’ भन्ने थियो । जसअन्तर्गत आएकाहरुको संस्था भएकाले पहिचान दिन हाइली स्किल्ड प्रोफेसनल्स भन्ने नाम दिइएको थियो । तर विस्तारै समय बित्दै जाँदा त्यो प्रोग्राम पनि अहिले नरहेको र संस्थालाई समावेशी बनाउनुपर्ने आवश्यकता भएका कारण अनि संस्थाको भविष्य हेर्ने हो भने एउटा कार्यक्रमअन्तर्गत आएकोलाई प्वाइन्ट अफ रेफरेन्सलाई आधार बनाएर त संस्थालाई लामो लैजान सकिँदैन । संस्थालाई समयअनुसार परिमार्जित गर्दै लानुपर्छ, समावेशी र फराकिलो बनाउने सोचेर संस्थाको नाम सोसाइटी अफ प्रोफेसनल्स युके राख्नेमा सबै साथीहरु सहमत भइसक्नुभएको छ र अहिले च्यारिटी कमिसनमा रजिस्टेसनमा जाँदैछ । म आफैँ पनि हाइली स्किल्ड प्रोग्रामअनुसार आएको होइन र अहिले अध्यक्ष छु । सह-सचिव पनि सो कार्यक्रमअनुसार आउनुभएको मित्रको श्रीमती हुनुहुन्छ । यस्तैगरी हाइली स्किल्डमा आउनुभएको साथीको छोरा पनि हुनुहुन्छ कमिटीमा । कतिपय सो कार्यक्रम बाहिरबाट आउनुभएका इन्जिनियरहरु पनि हुनुहुन्छ । हामीले यो संस्थालाई युकेमा रहेर विभिन्न पेशा गरिरहनुभएका र नेपालको विकासका लागि चिन्तन गर्ने नेपालीहरुको संस्था बनाउन खोजेका छौँ । हाइली स्किल्ड शब्दले साथीहरुमा पर्न गएको असरप्रति म क्षमाप्रार्थी छु । प्राविधिक कारणले त्यो नाम रहन गएको हो । यो सबै साथीहरुको साझा संस्था हो ।
अब चाहिँ हाइली स्किल्ड प्रोग्रामभन्दा बाहिरबाट आउनुभएका पनि सदस्य बन्न सक्छन् ?
अहिले थुप्रै नर्सहरु, इन्जिनियरहरु, शिक्षकहरु यो संस्थामा जोडिन आउनुभएको छ । तपाईहरुजस्तो पत्रकारहरुलाई पनि हाम्रो संस्थामा स्वागत छ ।
को को आउन पाउने हो त यो संस्थामा ?
प्रोफेसनल भन्ने एउटा सेल्फ डिफाइन्ड कन्सेप्टको रुपमा हामीले लिएका छौँ । हामीले ‘तपाई प्रोफेसनल हो’, ‘तपाई होइन’ भनेर भन्दैनौँ । कसैले हाम्रो संस्थाप्रति चासो देखाउँछ र कुनै पेशामा आवद्ध हुनुहुन्छ भने हामी हाम्रो संस्थामा स्वागत गर्छैाँ ।
एनआरएनको एउटा कार्यक्रमपछि होला यहाँले फेसबुकमा ‘नलेज-स्किल ट्रान्सफर’ होइन ‘नलेज एक्सचेञ्ज र नलेज कन्ट्रिब्युसन’ भनेर लेख्नुभएको थियो । यसको खास कारण के हो ?
मलाई कस्तो लाग्छ भने विदेशमा बस्नेहरु ‘मोर नलेजएवल’ ‘मोर इक्विप्ड’ हुन्छ नेपालका विकासको लागि भन्ने ‘पोष्ट कोलोनियल माइण्डसेट’ हो जस्तो लाग्छ । हामीसित कुनै सेक्टरमा अनुभव होला, त्यतिकै अनुभव र ज्ञान भएका साथीहरु नेपालमा पनि हुनुहुन्छ । हामी सबैको सामूहिक उद्देश्य भनेको हातेमालो गरेर मातृभूमिलाई विकास गरौँ भन्ने हो । कसैलाई हामीमा भएको ‘नलेज ट्रान्सफर’ गरेर नेपालको विकास गर्न सकिन्छ भन्नेलाग्छ भने त्यो ‘आरोगेन्स’ मात्र हो । हामीलाई थाहा छ नेपालको कसरी विकास गर्नुपर्छ भन्ने कसैले ठान्छ भने त्यसप्रति मेरो आपत्ति छ । एनआरएनले पनि नेपालमा भएका विभिन्न किसिमका जनशक्तिसित ‘कोलाबोरेट’ गरेर सहयोग गर्नुपर्छ भन्ने मेरो बुझाइ हो ।
त्यसैमा यहाँले नलेज बैँक चाहिन्छ भन्नुभएको छ । नलेज बैँकको अवधारणा के हो ?
म बेलायतको विश्वविद्यालयमा काम गर्छु जो वल्ड टप रयांकिंगमा छ । मलाई त्यहाँ काम गर्दाको अनुभव छ । त्यस्तै अरु देशमा रहनुभएका साथीहरुसित पनि विभिन्न क्षेत्रको अनुभव छ । मलाई ती साथीहरुको अनुभवलाई समेटेर ‘सेक्टरवाइज नलेज बैँक’ बनाउन सकिन्छ जस्तो लाग्छ । हामीले नेपालको विश्विद्यालयहरुसित कोलाबोरेट गरेर रिसर्च पोलिसी, टिचिंग एक्सचेञ्ज, करिकलम डेभलपमेण्ट लगायतका क्षेत्रमा योगदान दिन सक्छौँ । नेपाली विज्ञहरुलाई लिएर काम गर्दा कन्सल्ट्याण्टहरुलाई जस्तो पैसा दिन पर्दैन । त्यसका लागि नेपालमा न्यानशल लेभलको मेकानिज्म बनाऔँ । जसमा सरकारको नेतृत्व चाहिन्छ । त्यो संयन्त्रले फेसिलिटेटरको काम गरोस् । त्यसले हरेक क्षेत्रमा राम्रो परिणाम दिन सक्छ भन्ने मलाई विश्वास छ ।
यता तपाई युएसिएलमा आवद्ध हुनुहुन्छ । जुन युनिभर्सिटी वर्ल्ड रयांकिंगमा छ । उता नेपालको शैक्षिक अवस्था दिनदिनै कमजोर बन्दै छ । खासमा नेपालमा शैक्षिक अवस्था गिर्नुको कारण के देख्नुहुन्छ ?
मेरो विचारमा यो साझा समस्या हो । नेपालको सबै क्षेत्रमा भएका समस्या शिक्षा क्षेत्रमा पनि छ । नेपालको वास्तविक समस्या गभर्नेन्सको हो । हरेक क्षेत्रमा राजनीतिकरण छ । शैक्षिक क्षेत्रमा अनुसन्धान गर्ने परिपाटी दिनदिनै हराउँदो छ । नेपालमा ४-५ हजार गैरसरकारी संस्था छन् । त्यसमा काम गर्न धेरै अनुसन्धाता, विज्ञहरु नेपाल आउँछन् । नेपालका विश्वविद्यालयले ती आइएनजिओसित सहकार्य गरेर अध्ययन अनुसन्धानमा योगदान पुर्याउनुपर्छ । नेपालमा स्वतन्त्र रुपले चल्ने केही संस्थाहरुले गरेका अनुसन्धानहरु विश्वस्तरीय छ । तर तिनीहरुले मूलप्रवाहको पठनपाठनमा प्रभाव पार्न सकिरहेका छैनन् । नेपालमा एक किसिमको ‘एजुकेसन इलिटिज्म’ छ ।
हवस् त धेरै धन्यवाद तपाईको विचारका लागि ।
एउटा कुरा तपाईले हाम्रो संस्थाका बारेमा लेखिदिनुपर्छ । हाम्रो बेलायतमा भविष्य कस्तो हुन्छ ? बच्चाहरुको भविष्य के हुन्छ ? हामी १०-१५ वर्षपछि ५०-६० वर्ष पुग्छौँ त्यतिबेला हाम्रो अवस्था के हुन्छ भन्ने बारेमा हामीले गम्भीर भएर सोच्नुपर्छ । हामी जब युके आयौँ शुरुमा काम चाहियो, घर चाहियो, केटाकेटीलाई विश्वविद्यालयतिर पढाउन परयो । हाम्रो ध्यान त्यता गयो । उनीहरुको अन्तर्राष्ट्रिय, अन्तरसाँस्कृतिक सम्बन्धका बारेमा हामीले सोचेका छैनौँ । हामीले नेपालकै माइन्ड सेटले हेरिरहेका छौँ । हामी जहाँ बसेका छौँ त्यहीँअनुसार हामीले माइण्डसेट परिवर्तन गरेनौँ भने भविष्यमा हामीलाई विभिन्न असर पर्न सक्छ । यस्ता भविष्यमा आइपर्ने सम्भावित सामाजिक समस्यालाई कसरी निराकरण गर्न सकिन्छ भनेर ‘डाइलग’ शुरु गर्दैछौँ ।