दमासकस, २ फागुन । सिरियाको मध्य प्रान्त होम्सको रास्तान सहरमा आइतबार ४१ वटा ट्रक मानवीय सहयोग लगिएको इन्टर नेसनल कमिति अफ रेडक्रस (आइसीआररी) ले जानकारी दिएको छ । यस इलाकामा अझै पनि विद्रोहीको बलियो प्रभाव रहेको छ ।
करिब १ लाख १० हजार व्यक्तिको लागि गरिएको सो मानवीय सहयोगहरुमा खाद्य पदार्थ, औषधी र कबलहरु रहेका आइसीआररीले जानकारी दिएको छ ।
उक्त मानवीय सहयोग आइसीआररी र सिरियन अरब रेड क्रिसेन्ट ( सार्क) र संयुक्त राष्ट्र संघको संयुक्त सहभागीतामा भएको जनाइएको छ ।
सिरियाको होम्स प्रान्तमा रहेको रास्तान र तालबिस सहरमा अझै पनि विद्रोहीको बलियो प्रभाग रहेको छ ।
सिरियामा सन् २०११ को मार्च महिनाबाट सुरु भएको जनआन्दोलन केही समयपछि गृहयुद्धमा परिणत भयो । सो गृहयुद्धमा आतङ्ककारी समूहहरु अल कायदा र इस्लामिक स्टेट (आइएस) पनि हाबी हदै गए ।
यस गृहयुद्धमा परी सन् २०११ को मार्च महिनाबाट हालसम्म ३ लाख १० हजार भन्दा बढी व्यक्तिको मृत्यु भईसकेको छ भने लाखौ व्यक्ति घाइते भएका छन् । जारी यस युद्धको कारण लाखौ व्यक्ति छिमेक देशमा शरणार्थी जीवन विताउन बाध्य भएका छन् ।