सिन्धुली, १२ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्र र जनताको हितविपरीत संविधान संशोधन हुन नदिने बताउनुभएको छ ।
नेकपा एमाले सिन्धुलीले सिन्धुलीमाडीमा आज आयोजना गरेको ३६ औं ऋषिराज देवकोटा स्मृति दिवस एवम् जिल्ला प्रतिनिधि परिषदको उद्घाटन गर्दै अध्यक्ष ओलीले अरुको इसारामा दलहरुले संविधान संशोधनको प्रस्ताव ल्याएको आरोप लगाउनुभयो ।
संसदमा संविधान संशोधनको प्रस्तावलाई ल्याईएला तर कुनै पनि हालतमा एमालेले संविधान संशोधन प्रस्ताव पास गर्नै नदिने उहाँले दोहोरयाउनुभयो ।
स्थानीय निकायको चुनाव हुन नदिनका लागि संविधान संशोधन अनावश्यकको विषय बनाइएको उहाँको भनाइ छ ।
सो अवसरमा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने दुईसयभन्दा बढी नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो ।
यसैबीच अध्यक्ष केपी ओलीलाई हेटौडा चतार राजमार्ग पीडित सङ्घर्ष समितिले ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्र बुझदै ओलीले भन्नुभयो, “हेटौडा चतार राजमार्गको सुरुवात आफैले गरेको हुँ, यसले सिन्धुलीलाई सम्बृद्ध बनाउने छ तर पनि धेरै वस्ती तथा सम्पत्तिको क्षति नगरी राजमार्ग विस्तार गरिनुपर्छ ।”
संविधान संशोधन प्रक्रिया अगाडि बढाउन सहमति भयो ः प्रधानमन्त्री
रुकुम, १२ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लामो समयदेखि संसदमा अड्किएको संविधान संशोधन विधेयक अब अगाडि बढ्ने बताउनुभएको छ ।
आज रुकुमको मुसिकोटमा प्रथम मध्यपश्चिम रुकुम महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले संविधानसभाबाट घोषणा भएको संविधान कार्यान्वयन गर्ने जिम्मेवारी सबैको काँधमा रहेकाले संशोधन विधेयक अगाडि बढाउन एमालेलगायतका दलहरु सहमति भएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधान संशोधनका लागि सत्ता पक्ष र प्रतिपक्षसँग आज सहमति भएकाले अब संशोधन विधेयक अगाडि बढ्ने बताउनुभयो ।
प्रधानमन्त्री दाहालले सरकारको अहिलेको मुख्य जिम्मेवारी भनेको सबै राजनीतिक दलबीच सहमति गराएर देशमा राष्ट्रिय एकता कायम गरी समयमा नै तीन तहको निर्वाचन गराउने रहेको उल्लेख गर्नुभयो ।
संविधानले तोकेको समय सिमाभित्र तीन तहको निर्वाचन गराउन नसके देश गम्भीर दुर्घटनामा फस्ने प्रधानमन्त्री दाहालको भनाइ थियो । उहाँले भन्नुभयो, “सरकार अहिले तराई मधेसदेखि पहाड हिमाल हुँदै पूर्वदेखि पश्चिमसम्मलाई एकताबद्ध गराएर देशलाई निर्वाचनतिर लैजाने क्रममा छ ।”
सरकारले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरीसकेकाले सबै पक्षलाई निवार्चनमा केन्द्रीत हुन उहाँले आग्रह गर्नुभयो ।