परराष्ट्रमन्त्री डा. प्रकाश शरण महतसँग बिहीबार परराष्ट्र मन्त्रालयमा शिष्टाचार भेटवार्ता गर्दै नेपालका लागि भारतका राजदूत मन्जिभसिंह पुरी । तस्बिर ः सौजन्य– परराष्ट्रमन्त्रीको निजी सचिवालय, रासस
परराष्ट्रमन्त्री डा प्रकाशशरण महतसँग आज परराष्ट्र मन्त्रालयमा नेपालका लागि भारतका नवनियुक्त राजदूत मन्जिभसिंह पुरीले शिष्टाचार भेट गर्नुभयो ।
भेटका क्रममा नेपाल र भारतको आपसी सम्बन्धका साथै नेपालको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको थियो ।
भेटमा परराष्ट्रमन्त्री महतले स्थानीय तहको निर्वाचनको तयारी व्यापक रुपमा सरकारले गरिरहेको र त्यसमा सबै राजनीतिक दललाई समेटेर निर्वाचनमा सहभागी गराउने गृहकार्य भइरहेको बताउनुभयो ।
विकास प्रयासलगायत नेपालको बृहत्तर हितमा पुरयाउँदै आएको सहयोगप्रति मन्त्री महतले राजदूत पुरीमार्फत भारत सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो । मन्त्री महतले पुरीको सफल कार्यकालका लागि शुभकामना पनि व्यक्त गर्नुभयो ।
राजदूत पुरीले नेपाल र भारतबीचको सदियौं पुरानो सम्बन्धको स्मरण गर्दै आफ्नो कार्यकालमा दुई देशको सम्बन्धलाई थप मजबुत बनाउन आफूले हरसम्भव प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।