अङ्कारा, ५ वैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीका राष्ट्रपति रेसेप तैयप एर्डोगानलाई गत आइतबार टर्कीमा सम्पन्न जनमतसङ्गहमा एर्डोगानको पक्षमा गएकोमा टेलिफोनमार्फत सोमबार बधाई दिनुभएको छ ।
ह्वाइट हाइसकाअनुसार, यी दुई नेताबीच सिरियामा अमेरिकाआवद्ध हवाई आक्रमण र आतङ्ककारी समुह इस्लामिक स्टेट विरुद्धको लडाइको विषयमा पनि छलफल भएको बताइएको छ ।
टर्कीमा गत आइतबार राष्ट्रपति एर्डोगानको शक्ति बढाउने उद्देश्यले सम्पन्न जनमतसङ्गहमा अत्यन्त झिनो मतको अन्तरमा एर्डोगानको पक्षमा जनमतसङ्ग्रहको परिणाम आएको थियो
संविधानमा नै राष्ट्रपतिको भूमिका परिवर्तनको लागि हुने गरी संशोधन गर्नसक्ने राष्ट्रपतिलाई अधिकार दिइने ‘हुन्छ या हुदैन’ भन्ने विषयलाई लिएर यस जनमतसङ्ग्रह भएको थियो ।
आइतबार भएको जनमतसङ्ग्रहमा एर्डोगानको पक्षमा ५१.४१ प्रतिशत मत परेको निर्वाचन अधिकारीहरुले प्रष्ट गरेका थिए ।
यस जनमतसङ्ग्रहमा मतदानको लागि पाँच करोड ५३ लाख भन्दा बढी टर्कीका नागरिक योग्य मानिएका थिए ।
जनमतसङ्ग्रह एर्डोगानको पक्षमा गएपछि टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा पनि बढी एर्डोगान शक्तिशाली हुने बताइएको छ ।
टर्कीका विषक्षी नेताहरुले भने यस जनमतसङ्ग्रहको वैधानिकताको विषयमा प्रश्न उठाएका छन् ।
यस जनमतसङ्ग्रहमा आफू विजय भएकोमा अत्यन्न उत्साहित भएका राष्ट्रपति एर्डोगानका समर्थकले यस विजयबाट एर्डोगानलाई अर्को १२ वर्षसम्म राष्ट्रपति पदमा अवस्थित रहने गरी संविधान परिवर्तन गर्न सक्ने बताएका छन् ।
राष्ट्रपति एर्डोगानले टर्कीमा मृत्युदण्डको सजाय पुनःकायम गर्नसक्ने गरी पनि जनमत सङ्ग्रह गर्ने बताउँदै आउनुभएको थियो । यद्यपि युरोपेली सङ्घले भने यस्तो व्यवस्था गरेमा टर्कीलाई सदस्यता दिनेबारेमा छलफल समाप्त हुने चेतावनी दिएको थियो ।