काठमाडौ। आइसिसी डिभिजन थ्री लीग च्याम्पियन बनेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार भब्य स्वागत भएको छ।
फाइनलमा युगान्डालाई ६२ रनले पराजित गर्दै च्याम्पियन बनेको नेपाली टोलीलाई खेलकुद परिषदका सदस्य सचिव युवराज लामासहितका पदाधिकारीहरुले टोलीको स्वागत गरेका थिए।
नेपाली खेलाडीको स्वागत गर्न क्रिकेट प्रसंसकको विमानस्थलमा भीड लागेको थियो। उनीहरुले अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउनु पर्ने माग गर्दै नारावाजी समेत गरेका थिए।
च्याम्पियन नेपालसँग फाइनलमा प्रतिस्पर्धा गर्ने युगान्डा पनि डिभिजन टु मा बढुवा भएको छ। दुवै टोलीले जनवरीमा नामिबियामा क्यानडा, केन्या, नामिविया र नेदरल्यान्डसँग प्रतिस्पर्धा गर्ने छन्। डिभिजन टु मा शीर्ष स्थानमा रहने टोलीले इन्टर कन्टिनेन्टल खेल खेल्न पाउने छन्।