नयाँदिल्ली, ३१ जेठ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बङ्गलादेशमा बाढी पहिरोबाट ठूलो मात्रामा धनजनको क्षति भएको प्रति दुःख व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्रीको कार्यालयका प्रवक्ताले प्रधानमन्त्री मोदीले बङ्गलादेशलाई परेको विपद्प्रति सहानुभूति व्यक्त गर्दै सहयोगका लागि आफूहरु सधैँ तयार रहेको बताउनुभएको जानकारी दिनुभएको छ ।
बङ्गलादेशलाई आवश्यक परेमा खोजी तथा उद्धार कार्यका लागि सहयोग गर्नसक्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री मोदीलाई उद्धृत गर्दै प्रवक्ताले दिएको जानकारीअनुसार मोदीले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गर्नुभएको छ ।
भीषण वर्षापछि आएको बाढी पहिरोमा परी दक्षिणी बङ्लादेशमा कम्तीमा १३७ जनाको मृत्यु भएको छ । यस प्रकोपको कारण ज्यान गुमाउनेमा पाँच जना सुरक्षाकर्मीसमेत रहेका छन् ।
घटनामा परी अरू केही हराई रहेकाले मृतकको सङ्ख्या अझै बढ्न सक्नेसमेत अनुमान गरिएको छ ।
बाढी पहिरोका कारण प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क र बिद्युत् सेवा अवरुद्ध भएको अधिकारीहरुले बताएका छन् ।
बङ्गलादेशमा सन् २००७ मा आएको बाढी पहिरोमा परी १३० जनाको मृत्यु भएको थियो । अहिले आएको बाढी पहिरो त्यसपछिको सबैभन्दा ठूलो भएको उनीहरुको भनाई छ ।