ब्रसेल्स, ७ असार । बेल्जियमको राजधानी ब्रसेल्सको रेल स्टेसनमा बम राख्ने योजना गरिरहेको एकजना व्यक्तिको यहाँको प्रहरीको कारबाहीमा ज्यान गएको छ ।
ब्रसेल्सको प्रहरीले यहाँको रेल स्टेसनमा बम राख्ने योजना बनाइरहेको अवस्थामा प्राप्त गरेको सूचनाको आधारमा गरेको कारबाहीका क्रममा सो व्यक्ति मारिएको हो ।
मारिएको सो व्यक्तिको पहिचान खुलेको ब्रसेल्स प्रहरीले जानकारी दिएको छ । बुधबार बिहानीपख यहाँको रेल स्टेसनमा बम विस्फोट गराई कैयौँको ज्यान लिने तयारी गरिरहेको प्रहरीले सूचना प्राप्त गरेको थियो ।
ब्रसेल्समा बम राख्न खोजेको सूचनाका आधारमा एकजना आतङ्ककारी मारिएको थियो र पछि उसको पहिचान पनि खुलेको छ– बेल्जियमका गृहमन्त्री जान जम्बोनले जानकारी दिनुभयो ।
उहाँले बेल्जियमको सरकारी रेडियोलाई सो समाचार दिनुभएको छ । उहाँले त्यस व्यक्तिका बारेमा थप केही बताउनुभएको छैन ।
सो व्यक्ति कारबाहीमा नमारिएको भए र प्रहरीले उसको पिछा नगरेको भए जनधनको ठूलो क्षति हुनेगरी दुुर्घटना हुनसक्ने उहाँले बताउनुभयो ।
ब्रसेल्स प्रहरीका एकजना अधिकारीले यस घटनालाई निकै ठूलो बनाउनेगरी आतङ्ककारीहरुले योजना गरेको जनाएका थिए ।
तर समयमै प्रहरीले त्यस व्यक्तिको पहिचान गरी कारबाही गर्दा ठूलै दुर्घटना टरेको उनको भनाई थियो ।
ब्रसेल्स पछिल्लो समयमा यस्तो आतङ्ककारी हमलाको उच्च खतराका रुपमा रहेको छ । जसका कारण प्रहरीको निकै कडा निगरानी हुने गरेको बताइएको छ ।
सन् २०१६ को मार्चमा पनि बेल्जियमको राजधानी ब्रसेल्समा रहेको एक रेल स्टेसन र अन्तर्राष्ट्रिय बिमानस्थलमा विस्फोट हुदा कम्तीमा पनि ३२ जनाको ज्यान गएको थियो ।