कुबेत, १९ असार । कतारका विदेशमन्त्रीले साउदी अरेबियासहितका खाडी मुलुकले अघि सारेका मागहरुबारे आफ्नो अडानसहित कुवेत आउनुभएको छ । सोमबारसम्ममा आफ्नो कतारले मागबारे जवाफ पठाउने बताए अनुसार कतारका अमीर शेख तमिम विन हमद अलथानीले कुबेतका अमीर शेख सवाह अल अहमद अल जावेरको पत्र लिएर विदेशमन्त्री कुवेत पुग्नुभएको हो ।
खाडी संकटबारे कुवेतका अमिरले मध्यस्थता गर्दै आउनुभएको छ । कतारका अमिरको पत्र त्यहाँका विदेशमन्त्री मोहम्मद बिन अब्दुल रहमान अलथानीले कुवेती अमीरलाई दिनुहुनेछ ।
यद्यपि उचित शर्तहरु भए संवादमा सहभागी हुन कतार तयार रहेको कतारी सरकारले बताउदै आएको थियो ।
खाडी मुलुकहरुले अलजजीरा प्रसारण सञ्जाल तथा टर्कीको सैन्य अखडा बन्द गर्नुपर्ने र इरानसँग सम्बन्ध विच्छेद गर्नुपर्ने लगायतका माग राखेका थिए । तोकिएको समयसीमाभित्र ती मागहरु पूरा नगरिए साउदी अरेबिया, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्टले कतारमाथि नाकाबन्दी लगाउने चेतावनी दिएका छन् ।
उनीहरुले कतारमाथि अतिवादी र आतंकवादी समूहहरुलाई सघाउँदै आएको आरोप लगाउँदै आएका छन् तर उक्त आरोप कतारले अस्वीकार गर्दै आएको छ ।
गत जुन महिनामा साउदी अरव, बहराइन, संयुक्त अरब एमिरेट्स र इजिप्ट लगायतका मुलुकले कतारसँग कूटनीतिक सम्बन्ध विच्छेद गरेका थिए । कतारसँग सम्बन्ध विच्छेद गरेको घोषणा गर्ने बेला रियादले “राष्ट्रिय सुरक्षालाई अतिवाद र आतंकवादबाट बचाउन“ उक्त कदम चालिएको बताएको थियो । केही समय पहिले साउदी अरेबिया, बहरेन र संयुक्त अरब एमिरेट्सले आफूहरुको आन्तरिक मामिलामा कतारले हस्तक्षेप गरेको भन्दै कुटनैतिक सम्वन्ध विच्छेद गरेको घोषणा गरेका थिए ।
यसैवीच, छ अरब राष्ट्रका विदेशमन्त्रीहरू कतारसँगको विवादका विषयमा कुरा गर्न बुधबार इजिप्टको राजधानी काएरोमा भेट्ने कार्यक्रम भएको इजिप्टको विदेश मन्त्रालयका प्रवक्ताले बताउनुभयो ।
कतार सङ्कटबारे कायरोमा छलफल हुदै
कायरो, १९ असार । इजिप्टले कतारमा जारी सङ्कट समाधानको लागि गल्फ देशहरुका विदेशमन्त्रीहरुको बैठक आह्वान गरेको समाचार छ । इजिप्टले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र बहराइनका विदेशमन्त्रीहरुसँग छलफलको आयोजना गर्ने भएको हो ।
इजिप्टको राजधानी कायरोमा ती विदेशमन्त्रीहरुको बैठक बस्न लागेको छ । इजिप्टले आगामी बुधबार सो बैठकको आह्वान गरेको छ । यस कार्यक्रमको आतिथ्यता इजिप्टले गर्ने भएको इजिप्टेली विदेशमन्त्रीले जानकारी दिनुभएको छ ।
इजिप्टको विदेश मन्त्रालयद्वारा आइतबार साँझ प्रकाशन गरिएको विज्ञप्तिमा सो बैठकमा कतार सङ्टको वर्तमान अवस्था र यसको विकासका अवस्थाका बारेमा छलफल हुने जनाइएको छ ।
आतङ्ककारीहरुलाई आश्रय र संरक्षण दिएको आरोपमा कतारमाथि यी चार देशले कूटनीतिक सम्बन्ध विच्छेद गरेका छन् । साउदी अरेबिया, युनाइटेड अरब इमिरेट्स, बहराइन र इजिप्टले कतारसँग थप नयाँ शर्त पनि राखेका छन् ।
कतारमाथि उनीहरुले नाकाबन्दी लगाएको करिब महिना दिनपछि यो प्रतिबन्धलाई हटाउनका लागि भन्दै केही प्रस्तावहरु अघि सारेका छन् । उनीहरुले ती प्रस्तावको स्वीकृतिका लागि भन्दै सोमबार ४८ घन्टे चेतावनी पनि दिएका छन् ।
यसअघिका शर्त आगामी ४८ घन्टाभित्र पूरा गर्ने भएमा मात्र कतारसँग वार्ता गरी शान्तिपूर्ण समाधान निकाल्ने बताएका उनीहरुले ती शर्त कतारले पूरा नगरेमा के गर्ने भन्ने बारेमा सो बैठकमा रणनीति बनाउने बुझिएको छ ।