नयाँ दिल्ली, ५ साउन । निर्वाचित भएपछि कोविन्दले आफू गरीव तथा तल्लो वर्गका नागरिकहरूको प्रतिनिधित्व गरेर राष्ट्रपति भवन छिर्न लागेको बताउनु भएको छ ।
मुलुकको सवै भन्दा ठूलो पदमा निर्वाचित हुन पाउँदा भावुक भएको र गाँउमा हुँदाका क्षणहरूको सम्झना भइरहेको बताउनु भयो ।
उहाँले राष्ट्रपति बन्ने लक्ष्य कहिल्यै नलिएको बताउदै नसोचेको जिम्मेवारी पाएकाले देश र जनताको सेवामा अझ बढी लाग्ने अठोट व्यक्त गर्नुभयो ।
पुर्वराष्ट्रपतिहरू डा राजेन्द्र प्रसाद, एपीजे अब्दुल कलाम लगायतलाई स्मरण गर्दै उहाँले विद्वानहरूको उत्तराधिकारी हुँन पाउदा गौरव महशुस भएको बताउनुभयो । उहाँले आफूलाई विश्वास गरेकोमा मतदाताहरू प्रति अभार व्यक्त गर्दै जनताको सर्वोत्तम हितका लागि मात्रै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
निर्वाचनमा आफुसँग प्रतिश्पर्धा गर्नुभएकी मिरा कुमारलाई पनि कोविन्दले धन्यबाद र शुभकामना व्यक्त गर्नुभएको छ ।
बधाईको ओइरो
राष्ट्रपतिका प्रतिस्पर्धि मीरा कुमार कुमारले पनि बधाई तथा शुभकामना दिनुभएको छ । नयाँ राष्ट्रपति देश र जनताको सेवामा सफल हुने विश्वास पनि उहाँले व्यक्त गर्नुभएको छ ।
निर्वाचन सफलतापुर्वक सम्पन्न गराएकोमा निर्वाचनमा खटिएका पदाधिकारीहरूलाई धन्यबाद दिनुभएको छ भने मतदाताहरू प्रति पनि उहाँले कृतज्ञता ज्ञापन गर्नुभएको छ ।
आफू पराजित भएपनि आफ्नो विचार धाराको लडाई भने जारी रहने उहाँले अठोट व्यक्त गर्नुभएको छ । जातीय विभेद विरुद्ध आफूले संघर्ष गरिरहने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो ।
सामाजिक न्याय, पारदर्शिता, धर्मनिरपेक्षता सहितको मुलुक आफ्नो चाहना भएको कुमारले बताउनु भयो ।
राष्ट्रपतिमा निर्वाचित भएपछि कोविन्दलाई बधाईको ओइरो लागेको छ । प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहसहित देशका विभिन्न नेताहरूले उहाँलाई भेटेरै बधाई दिनुभएको छ ।
त्यसैगरी विभिन्न देशका राष्ट्रपति तथा प्रधानमन्त्रीहरूले पनि उहाँलाई फोन गरेर बधाई दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।
उहाँको गाँउमा भव्य खुशियाली छाएको छ । उहाँका इष्टमित्र, आफन्त र शभेच्छुकहरूले पनि खुशीयाली मनाएका छन् । भारतका संचार माध्यमहरूले पुरै उहाँ निर्वाचित भएको र त्यसपछिको खुशियालीमा केन्द्रित भएका छन् ।
नवनिर्वाचित राष्ट्रपति कोभिन्दलाई नेपालबाट बधाई
काठमाडौँ, ५ साउन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको १४औँ राष्ट्रपतिमा निर्वाचित हुनुभएका रामनाथ कोभिन्दलाई आज छुट्टाछुट्टै सन्देश पठाई बधाई दिनुभएको छ ।
सन्देशमा राष्ट्रपति र प्रधानमन्त्रीले भारतीय राष्ट्रपति कोभिन्दको कार्यकालमा नेपाल र भारत सम्बन्ध थप सुमधुर बनाउन मिलेर काम गर्ने इच्छा व्यक्त गर्नुभएको परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।