विराटनगर, असार १८ । आजभोलि विराटनगरका अस्पताल पुग्ने मानिसले अस्पतालका भित्तामा नौलो नारा पढ्न पाउँछन्– भ्रूणहत्या सामाजिक अपराध हो । यो नाराको माथिल्लो भागमा सोधिएको छ– छोरी नभई बुहारी कहाँबाट ल्याउने ?
छोरीलाई गर्भमै मार्ने कुप्रथाविरुद्ध थालिएको अभियानको एउटा हिस्सा हो यो । यो अभियान विराटनगरको अग्रवाल महिला मञ्चले सुरु गरेको हो । मञ्चकी अध्यक्ष रचना पोदार भन्छिन्, ‘लिङ्ग पहिचान गरेर छोरी भएमा गर्भमै मार्ने चलन रोक्न चेतना आवश्यक रहेकाले हामीले यो अभियान चलाएका हौँ ।’
छोरीलाई गर्भमै मार्ने चलन बढेपछि मारवाडी समुदायमा महिला र पुरुषको सङ्ख्यामा धेरै अन्तर आएको छ । अघिल्ला दुईवटा जनगणनाका आँकडाले पनि यो समुदायका छोरी घट्दै गएको देखाएका छन् । ०५८ को जनगणनामा मारवाडी समुदायमा २३ हजार दुई सय पाँचजना पुरुष र २० हजार सात सय ६६ जना महिला थिए । यसको दश वर्षपछि मारवाडी पुरुष २७ हजार ४० जना भए भने महिला २४ हजार चार सय तीनजना मात्र ।
छोरा र छोरीबीचको सङ्ख्यामा अन्तर भएपछि त्यसको असर मारवाडी समुदायमा विवाहमा देखिन थालेको छ । बुहारी पाइन कठिन भएपछि अन्य समुदायबाट बुहारी भित्र्याउने क्रम बढेको छ ।
यसरी बढेको अन्तरजातीय विवाहले आफ्नो जातिको नश्लमा असर पर्ने हो कि भनेर एकथरी अभिभावक चिन्तित छन् । फुपूको छोराको अन्तरजातीय विवाह गराएका अग्रवाल सभाका अध्यक्ष जयकमल अग्रवालले भने, ‘पहाडी समुदायबाट बुहारी ल्याइयो । उनलाई हाम्रो संस्कार, रीतिथिति, भाषा धेरै कुरा बुझाउन समय लाग्यो ।’ अध्यक्ष अग्रवाल यसलाई आप्mना समुदायका छोरी घट्दाको दुस्परिणाम ठान्छन् । अध्यक्षका अनुसार अब पनि छोरी घट्ने क्रम नरोक्ने हो भने केही वर्षपछि मारवाडी समुदायका धेरै छोराले अन्य जातिका छोरी बिहे गर्नुपर्ने अवस्था आउँछ । समुदायमा चेतना बढाएर छोरीलाई गर्भमै मार्ने चलन रोक्न महिलाले चलाएको अभियान सकारात्मक भएको उनले बताए ।
विराटनगरमा मात्र नभएर पूर्वका अन्य सहरका मारवाडी समुदायले पनि अन्तरजातीय विवाह गर्ने क्रम बढेको छ । झापा गौरीगञ्जका व्यापारी धीरज अग्रवालले पहाडी समुदायबाट अधिकारीकी छोरी विवाह गरे । धीरज मारवाडी युवतीको सङ्ख्या घटेकाले नै यस समुदायका केटाले अन्य समुदायका केटी बिहे गर्नुपरेको बताउँछन् । यसरी विवाह गर्दा अन्य समुदायबाट आउने बुहारीलाई संस्कार, भाषा र रीतिथिति बुझाउन कठिन हुने गरेको उनले बताए ।
आफ्नै समुदायका बुहारी पाइन छाडेपछि मारवाडी महिलामा चिन्ता बढेपछि छोरी जन्माउन प्रोत्साहित गर्न अभियान चलाएको पोदारले बताइन् ।
विराटनगरको कोसी, सप्तकोसी, श्री, सुरक्षा, हाम्रो र लाइफगार्ड अस्पतालका भित्ता र बहिरंग कक्षबाहिर वालपेन्टिङ गराएको मञ्चले जनाएको छ । बच्चाको लिङ्ग चिन्ने र गर्भमा छोरी रहेको भेटिए गर्भपतन गर्ने काम अस्पतालमा हुने भएकाले यस्ता नारा लेख्नका लागि अस्पतालकै भित्तो रोजिएको हो ।
यो अभियान नारा लेख्ने काममा मात्र सीमित छैन । यसमा लागेका मानिसले गर्भमै छोरी मार्ने चलनबारे डाक्टरसँग छलफल पनि गर्ने गरेका छन् ।
डेढ वर्षअघि यो अभियान लिएर मारवाडी महिला अस्पताल धाउँदा धेरैले अनौठो माने । कतिले त छोरीलाई महत्व नदिने समुदायकै महिला छोरी बचाउन अग्रसर भएको भन्दै खिसी पनि गरे । मारवाडी अगुवा आशा तोदीले भनिन्, ‘कति अस्पतालका डाक्टरले त कुरा सुन्नै मानेनन् । हामै्र समुदायका पुरुषले पनि नाक खुम्च्याए । तर, हामीले हार मानेनौँ । अभियान चलाइरहेका छौँ ।’
मञ्चका प्रतिनिधिले बारम्बार आग्रह गरेपछि यहाँका अस्पतालले चिकित्सकसँग अन्तरसंवाद गर्न र भ्रूणहत्या रोक्ने विषयमा छलफल गर्न सहमति जनाएका थिए । ‘अहिले पनि हामी भ्रूणहत्याबाट आफ्नो समुदायमा परेको असर बुझाउन सक्रिय छौँ,’ तोदीले भनिन्, ‘अहिले त युवती पनि यो अभियानमा लागेका छन् । गर्भवतीलाई परिवारले गर्भपतन गराउन दबाब दिए मञ्चलाई सूचना दिन पनि भनिरहेका छौँ ।’ विराटनगर, बरगाछीको लाइफगार्ड अस्पतालका प्रशासकीय अधिकृत विपुलेन्द्र झाका अनुसार सो मञ्चले आग्रह गरेपछि अस्पतालको ओपीडी शाखा र बाहिर पनि यस्ता नारा लेखिएको हो । उनी भन्छन्, ‘हामीले अस्पतालका चिकित्सक र मारवाडी प्रतिनिधिलाई राखेर नियमित बहस गराइरहेका छौँ ।’
मारवाडी अगुवा अनिता कलकत्तियाले भनिन्, ‘चिकित्सकलाई पैसाको लोभमा परेर गर्भमा लिङ्ग पहिचान गरी छोरीको हत्या नगर्न सुझाव दिएका छौँ । भिडियो एक्सरे गर्नेहरूलाई पनि लिङ्गबारे नबताउन चेतावनी दिएका छौँ ।’ व्यवस्थापनतर्फ स्नातक गरेर ट्राभल एजेन्सी चलाइरहेकी वर्षा लोहियाले मारवाडी समुदायमा छोरीलाई हेर्ने दृष्टिकोणमा अहिले पनि परिवर्तन आउन नसकेको र भ्रूणहत्याको दर अधिक रहेको बताइन् । उनले भनिन्, ‘छोरी पनि छोरासरह सबै कामका लागि योग्य छन् भन्ने बुझाउन अझै सकिएको छैन । आमाहरूकै उक्साहटमा गर्भमै छोरी मार्ने क्रम नरोकिएकाले चिन्ता थपिएको हो ।’
कतिपयले धेरै दाइजो दिनुपर्ने पीरले पनि छोरीलाई गर्भमै मार्ने गरेको उनले बताइन् ।
यो अभियानमा नयाँ पुस्ताले पनि चासो लिएर सहयोग गरिरहेको छ । मारवाडी समुदायका छोरी बचाउने अभियानलाई अभिभावक, खासगरी आमा, भाउजू र काकीहरूलाई सक्रिय गराएर आफूले पनि सघाएको एकता अग्रवालले बताइन् । उनी अग्रवाल महिला मञ्चले थालेको अभियानमा सहभागी छिन् । ‘हामी युवती पनि अभियानमा सक्रिय भएर छोरीको सङ्ख्या घट्दा पर्ने असरबारे बुझाइरहेका छौँ,’ उनले भनिन् ।
उच्च शिक्षा लिइरहेका आफूजस्ता युवतीलाई समेत मञ्चले तालिम दिएर छोरीको महत्व बुझाउने गरेको उनले बताइन् । यस समस्याले विराटनगर मात्रै होइन, पूर्वका अरू सहरमा रहेका मारवाडी समुदायलाई पनि चिन्तित बनाएको छ । मारवाडी सेवा समिति दमकका उपाध्यक्ष दिनेश अग्रवाल मारवाडी समुदायमा अन्तरजातीय विवाह गर्ने क्रम बढ्दै गएकाले छोरी बचाउने विषयमा सचेत हुनुपर्ने बेला आएको बताउँछन् ।
‘नत्र भविष्यमा छोरी अझ धेरै घटेर हाम्रा छोराहरूको विवाह नै नहोला भन्ने डर पनि बढ्दै छ,’ उनले भने । जनचेतनामूलक कार्यक्रम चलाएर भ्रूणहत्या रोक्ने अभियानलाई अझ सशक्त बनाउने कुरा पनि अग्रवालले बताए ।
अग्रवाल महिला मञ्चकी अध्यक्ष पोदारले छोरीलाई गर्भमै मार्नु अपराध भएकाले यसलाई रोक्न विशेष ध्यान दिन राज्यसँग माग गरेकी छिन् । यस समस्याको जड छोरीलाई बोझका रूपमा हेर्ने संस्कार भएकाले उनले समुदाय आफैँ पनि यसका विरुद्धमा लाग्नुपर्ने बताइन् । ‘दबाबमा परेर गर्भमै छोरी मार्न विवश आमाहरूले पनि विद्रोह गर्न सक्नुपर्छ,’ उनले भनिन् ।