प्रधानमन्त्री शेरबहादुर देउवा भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजु राणा देउवाका साथ उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै भारतको राजकीय भ्रमणका क्रममा नयाँदिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा पुग्नुहुँदा स्वागत गर्नुहुँदै भारतका बाह्य मामिला मन्त्री सुष्मा स्वराज । तस्बिर ः रोशन सापकोटा, रासस
नयाँदिल्ली(भारत), ७ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणको क्रममा केही समयअघि नयाँ दिल्ली आइपुग्नुभएको छ ।
आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डा आरजू राणा देउवाका साथ ४८ सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा आउनुभएको थियो ।
प्रधानमन्त्री देउवालाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतीय विदेश मन्त्री सुष्मा स्वराजले हार्दिक स्वागत गर्नुभएको थियो ।
प्रधानमन्त्रीको स्वागतमा भारतीय विदेश मन्त्रालयका उच्च अधिकारी, भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसहित दूतावासका उच्च अधिकारीहरु उपस्थित हुनुहुन्थ्यो ।
अहिले प्रधानमन्त्री देउवा राष्ट्रपति भवनमा केही समयका लागि विश्राम गर्दै हुनुहुन्छ ।
आज अपरान्ह ३ बजे उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ भने आजै साँझ ७।३० बजे नेपाल र भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ ।