काठमाडौं , २१ भदौ । तेस्रो चरणको स्थानीय तह निर्वाचनअन्तर्गत प्रदेश नं २ का १३६ स्थानीय तहमा आगामी असोज २ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता कार्य आज उत्साहजनक र शान्तिपूर्णरुपमा भएको छ ।
मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा पुगेर महिला, दलितलगायत उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताउनुभयो ।
साँझ ६ः३० बजेम्म तेस्रो चरणमा निर्वाचन हुने स्थानीय तहका विभिन्न पदमा १८ हजार २०० को उम्मेदवारी परेको विवरण आयोगमा प्राप्त भएको प्रवक्ता ढकालले जानकारी दिनुभयो । मनोनयन दर्ताको विवरण आउने क्रम जारी नै रहेकाले यकिन संख्या आउन बाँकी छ ।
बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारको अत्यधिक सहभागिताका कारण अपराह्न ४ बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनेको बाक्लो उपस्थित रहेको निर्वाचन आयोगले जनाएको छ ।
कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा साँझ अबेरसम्म पनि उम्मेदवारी दर्ता गर्नेहरुको लाम रहेको आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट जानकारी प्राप्त भएको थियो ।
मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन हुने आयोगले जानकारी दिएको छ ।
यकिन विवरण आइनसकेकाले पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै यो निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान गरिएको छ । तेस्रो चरणको स्थानीय तह निर्वाचन एक महानगरपालिका, तीन उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिकामा हुँदैछ । यो निर्वाचनबाट छ हजार ६२७ प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।
निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशनपछि उम्मेदवारलाई यही भदौ २४ गते निर्वाचन चिह्न प्रदान गरिनेछ ।
मुलुकका सात प्रदेशका ७७ जिल्लाका ७५३ मध्ये पहिलो चरणमा गत वैशाख ३१ गते २८३ तथा दोस्रो चरणमा ३३४ स्थानीय तहको निर्वाचन भइसकेको छ । स्थानीय सरकार गठनका लागि भइरहेको स्थानीय तहको निर्वाचन पूरा भएपछि संविधान कार्यान्वयनको एउटा खुड्किलो पार हुन्छ ।
राजविराजस्थित शहरी बिकास तथा भवन निर्माण डिभिजन कार्यालयमा मनोनयन दर्ता गर्दै राजनैतिक दलका मेयर तथा उपमेयरका उमेदवारहरु । तस्बिर ः अरुण कुमार यादव, राजविराज, रासस
उत्साहपूर्वक मनोनयन दर्ता
गौर (रौतहट), २१ भदौ । रौतहटका १६ नगरपालिका र दुई गाउँपालिकामा उम्मेदवारी दर्ता भएको छ । विभिन्न नगरपालिका तथा गाँउपालिकामा मुख्य दलका उम्मेदवारहरुले मनोनयन दर्ताको गरेका छन् ।
प्रदेश नं. २ को सबैभन्दा ठूलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकामा नेकपा (माओवादी केन्द्र)का युवराज भट्टराईले प्रमुख र देवकी नेपालले उपप्रमुख पदका लागि मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै नेपाली काँग्रेसका तर्फबाट प्रमुखमा रामचन्द्र चौधरी र उपप्रमुखमा लक्ष्मी बरालले मनोनयन दर्ता गराउनुभएको छ । नेकपा (एमाले)बाट भने उद्धवप्रसाद रेग्मीले प्रमुख र रामरति चौधरीले उपप्रमुखमा मनोनयन दर्ता गराउनुभएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रमुखमा दिलीप थापा र उपप्रमुखमा सीता दाहालले मनोनयन दर्ता गराउनुभएको छ । स्वतन्त्रबाट चन्द्रपुर नगरपालिकाको प्रमुखमा मुकेश कुमार मिश्रा, शेख महम्द अनवारुल हक, गणेश कार्की, विजय घिमिरेले मनोनयन दर्ता गराएको चन्द्रपुर नगरपालिकाका निर्वाचन अधिकृत कमलराज भण्डारीले बताउनुभयो ।
यता रौतहटको सबै भन्दा पुरानो गौर नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादीले नगर प्रमुखको उम्मेदवारी दिएनन । राजपाबाट गौर नगर प्रमुखको लागी अजय गुप्ता, एमालेबाट शम्भु साह, मधेशी जनअधिकार फोरमबाट अर्चना यादव फोरम लोकतान्त्रिकबाट गौरीशंकर यादवले उमेदवारी दर्ता गराएका छन ।
स्वतन्त्रबाट तिन जनाले मेयरमा उम्मेदवारी दिएका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै बौधीमाइ नगरपालिकामा पनि शान्तिपुर्ण रुपमा उमेदवारी दर्ता कार्य सम्पन्न भएको छ । उक्त नगरपालिकामा नेकपा एमालेको तर्फबाट नगर प्रमुखमा प्रदिप यादब,उप प्रमुखमा इन्दु मिश्र,राजपाबाट प्रमुखमा राजाबाबु जयसवाल लगायतकाले उमेदवारी दिएका छन । रौतहटमा कुल २ सय ७७ मतदान स्थल तोकिएको छ भने ४ सय ३४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । १८ स्थानीय तहमा जम्मा ८ सय २१ पदाधिकारीको निर्वाचित हुनेछन् । तेश्रो चरणको स्थानीय तह निर्वाचनमा रौतहटमा १८ मेयर, १८ उपमेयर, १ सय ५७ वडा अध्यक्ष र ६ सय २८ सदस्य स्थानीय तहमा निर्वाचित हुनेछन ।
सौहार्दपूर्ण वातावरणमा मनोनयन दर्ता
पर्सा, २१ भदौ । प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि आज पर्सामा सौहार्दपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
विहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता हालसम्म जारी रहेको छ । एक महानगर, तीन नगर र दश गाउँपालिकाकाको विभिन्न ४७६ पदका लागि राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले तोकिएको स्थानमा पुगी मनोनयन दर्ता गराउने क्रम राति ८ बजेसम्म चलेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।
उहाँले अपराह्न ५ बजेभित्र कार्यालय परिसरमा प्रवेश गरेका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य चलिरहेको बताउनुभयो । २ नं प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा क्रमशः नेपाली काँग्रेसका तर्फबाट अजयकुमार द्विवेदी र शान्ति कार्की, नेकपा (एमाले)का तर्फबाट बसरुद्दिन अन्सारी र सोफिया आचार्य तथा नेकपा (माओवादी केन्द्र) का तर्फबाट रहबर अन्सारी र दुर्गा क्षेत्रीले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी र पिन्कीदेवी यादव, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेशमान सिंह र रम्भा मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र रिंकु यादवले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
उहाँले मनोनयन दर्ता जारी नै रहेका कारण उम्मेदवारी दिनेको संख्या हाल एकिन हुन नसकेको बताउनुभयो ।