मेक्सिको सिटी (मेक्सिको), २२ भदौ । मेक्सिकोको ग्वाटेमालासँगको सीमा क्षेत्रमा अवस्थित चिपास राज्यमा गएको भूकम्पका कारण ओसाका क्षेत्रमा १० जनाको मृत्यु भएको छ भने अन्य क्षेत्रमा पाँचको पनि मृत्यु भएको अमेरिकी समाचार संस्था एपीले जनाएको छ ।
यसैबीच चिनियाँ समाचार संस्था सिन्ह्वाले ओसाका राज्यका गभर्नर अलेजान्द्रो मुरतलाई उद्धृत गर्दै भूकम्पका कारण ३२ जनाको मृत्यु भएको जनाएको छ ।
मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ८.१ म्याग्निच्युडको भूकम्प गएको र यसमा परी कम्तीमा १५ जनाको मृत्यु भइसकेको र केही बेपत्ता रहेको नागरिक सुरक्षा प्रमुख लुइस फेलिप पुएन्टले बताउनुभएको छ ।
भूकम्पको झट्का करिब एक मिनेटसम्म महसुस गरिएको उहाँले बताउनुभयो ।
मेक्सिकोमा केन्द्रविन्दुबाट करीब एक हजार किलोमिटर टाढासम्म भूकम्पको व्यापक असर परेको छ । भूकम्पले सो क्षेत्रमा कैयौँ घरहरू भत्किएका छन् ।
यस अघि दिइएको जानकारीमा नौ जनाको मृत्यु भएको र केही मानिस सम्पर्क बाहिर रहेको बताइएको थियो ।