काठमाडौँ, ३१ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौँ उपत्यका परापूर्वकालदेखि नै सांस्कृतिक विविधताको अनुपम भण्डारका रुपमा रहेको बताउनुभएको छ ।
नरदेवी श्वेतकाली माईको १२ वर्षे पर्व देवी नाचको आज हनुमानढोका दरबारको नासल चोकमा आयोजित समापन समारोहलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो संस्कृति संरक्षणका लागि संघीय र स्थानीय सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।
‘नेपाल विविध संस्कृति र भाषाको धनी राष्ट्रका रुपमा विश्वमा परिचित भएकाले यो पहिचान कायम राख्न यस्ता मौलिक संस्कृतिको जगेर्ना गर्न म सरकारलाई आह्वान गर्छु’ – राष्ट्रपति भण्डारीले भन्नुभयो ।
सांसद नवीन्द्रराज जोशीले यो ऐतिहासिक नाच नेपालले विश्वसामु प्रस्तुत गर्नसक्ने गौरवपूर्ण कला भएको बताउनुभयो । ‘यो नाचले जनताका लागि त्याग गर्ने शिक्षा दिएको छ, नाचमा जनताको रक्षाका लागि चण्डेश्वरी देवीले प्रेमको बलिदान गरी प्रेमी चन्द्रासुर दैत्यलाई मारेको देखाइएको छ’– उहाँले भन्नुभयो ।
सातसय वर्षअघि शुरु भएको यो नाच जीवन्त मौलिक सम्पदा भएको सांसद जोशीले बताउनुभयो । नाचघर बनाउन काठमाडौँ महानगरपालिकाले जग्गा उपलब्ध गराए सांसद विकास कोषबाट बनाइदिने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो ।
काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरपालिकाका सबै जात्रा सञ्चालन र भूकम्पले भत्किएका मठ मन्दिरको पुनःनिर्माणमा सहयोग गरिने वाचा गर्नुभयो । नरदेवी श्वेतकाली मन्दिरको पुनःनिर्माणमा महानगरपालिकाले रु ९० लाख छुट्याएको जानकारी पनि उहाँले दिनुभयो ।
श्वेतकाली संरक्षण समितिका अध्यक्ष सत्यनारायण डंगोलले विसं २०६६ देखि शुरु भएको मेला यसपटक आठबर्षमा आजैदेखि समापन हुन लागेको जानकारी गराउनुभयो । यो जात्रा यसअघि विसं २०३७ मा भएको थियो ।
बाह्र वर्षमा नरदेवी, इन्द्रचोक, भक्तपुर, ललितपुर, बनेपा, धुलिखेललगायत १२ स्थानमा लैजानुपर्ने नियम छ । यो मेला विशेष अवसर पारेर शुरु गरिँदै आएको छ ।