काठमाडौँ, १० असोज (रासस) – यही असोज २ गते सम्पन्न भएका प्रदेश नम्बर २ का आठ जिल्लाका १३६ स्थानीय तहमध्ये मंगलबार अपराह्न ४ बजेसम्म १३३ स्थानीय तहको मतगणनाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो विवरणअनुसार वीरगन्ज महानगरपालिका, कलैया उपमहानगरपालिका र राजविराज नगरपालिकाको मतगणना कार्य जारी छ ।
वीरगन्ज नगरपालिकाको तीनवटा वडाका मतपेटिका खोली मतगणना सुरु भइसकेको छ भने राजविराज नगरपालिकाको पाँचवटा वडाको मतगणना गर्न बाँकी रहेको छ । जम्मा एक हजार २७१ वडामा भएको निर्वाचनमा हालसम्म एक हजार २५६ वडाको मतगणना कार्य सम्पन्न भएको छ र तीनवटै नगरपालिकाको गरी अब १५ वटा वडाहरुको मतगणना गर्न बाँकी रहेको आयोगले जनाएको छ ।
स्थानीय तहको निर्वाचन उत्कृष्ट ढंगबाट सम्पन्न भएको छ – निर्वाचन आयोग
काठमाडौँ, १० असोज । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त इला शर्माले निर्वाचनको अन्तर्राष्ट्रिय मान्यताको कुनै कसीबाट परीक्षण गर्दा पनि स्थानीय तहको निर्वाचन उत्कृष्ट ठहरिने दाबी गर्नुभएको छ ।
विजयादशमी, दीपावली तथा छठ लगायतका महान् चाडपर्वको उपलक्ष्यमा निर्वाचन आयोगमा आज आयोजित शुभकामना आदान–प्रदान कार्यक्रममा उहाँले स्वच्छ, स्वतन्त्र र भयरहित निर्वाचन सञ्चालनमा आयोगको भूमिकाप्रति कसैले प्रश्न उठाउन नसक्ने धारणा व्यक्त गर्नुभयो ।
आगामी मंसिरमा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई समेत सफल तुल्याउने गरी जिम्मेवारी बहन गर्न कार्यवाहक प्रमुख निर्वाचन आयुक्त शर्माले सम्पूर्ण कर्मचारीलाई निर्देशन दिनुभयो ।