अमेरिकामा नेपाल आदिवासी जनजाति महासंघ (फिप्ना) सम्मानित
मच्छे गुरुङ । नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्ना अमेरिकामा सम्मानित भएको छ ।
न्यूयोर्क सिटी कम्प्ट्रोलर स्कट स्ट्रिङगरले जनजाति महासंघले, अमेरिकामा रहेका आदिवासी जनजातिको जातिय भेषभूषा, संस्कृतिको संरक्षणका साथै, पहिचान र अधिकारको क्षेत्रमा अतुलनिय काम गरेको भन्दै सम्मान गर्नुभएको हो ।
दिपावलीको अवसरमा न्यूयोर्कको क्वीन्सको एल्महस्ट अडिटरियम हलमा आयोजित एक कार्यक्रमका बीच कम्प्ट्रोलर स्ट्रिङगरले फिप्नाका अध्यक्ष लुइसाङ वाइवालाई सम्मानपत्र प्रदान गर्नुभएको हो । फिप्नाले, नेपाल आदिवासी जनजातिको संस्कृति संरक्षण र संवद्र्दनमा योगदान पुरयाइरहेको चर्चा गर्दै स्ट्रिङगरले, यसले न्यूयोर्कको साँस्कृतिक विविधता धनी बनाउन योगदान गरेको तर्क गर्नुभयो । आप्रवासीप्रति उदार स्ट्रिङगरले, फिप्नाले गरेको आदिवासी चलचित्र महोत्सव र नेपाल डे परेडको प्रशंसा गर्नुभयो ।
सम्मानपत्र ग्रहण गर्दै अध्यक्ष वाइवाले आफूलाई सम्मान गर्नेलाई सम्मान गर्नु आदिवासीको संस्कृति रहेको भन्दै स्ट्रिङगरलाई तामाङ मौलिक परम्परागत टोपी लगाइदिएर सम्मान गर्नुभयो । सबै सदस्य संस्थाहरुको सामूहिक प्रयासबाट सम्मान पाएको भन्दै अध्यक्ष वाइवाले, सदस्य संस्थाहरु र फिप्ना पदाधिकारीहरुलाई बधाइ तथा धन्यवाद व्यक्त गर्नुभयो । उहाँले, श्रीमती बेलु तामाङ र छोरी वाङमु तामाङ पनि यो यात्रामा साथ रहेको उल्लेख गर्दै सम्मानले फिप्नालाई समुदायप्रति अझ जिम्मेवार बन्न प्रेरित गरेको बताउनुभयो ।
कार्यक्रममा, संस्थाका पदाधिकारी, सञ्चारकर्मी, लगायत अन्य नेपाली डायस्पोराका प्रतिनिधीहरु सहभागी थिए । यो सम्मान सबै नेपालीले पाएको भन्दै सबै सहभागीहरुले खुशी व्यक्त गरेका थिए । सन २००५ मा स्थापना भएको फिप्नामा आदिवासी जनजातिको १८ वटा संस्था आवद्द छन । स्ट्रिङगरले, साउथ एशियन काउन्सिल फर सोसल सर्भिसेज र आप्रवासीका हक हितमा काम गर्ने छायाँ कम्युनिटी डेभलपमेन्ट कर्पोरेशनलाई पनि सम्मान गर्नुभयो ।