टोकियो, १९ कात्तिक । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प एसियाको नौ दिने भ्रमणको क्रममा आइतबार जापान पुग्नुभएको छ । उहाँको उक्त भ्रमणको पहिलो देश जापान हो ।
आइतबार बिहान अमेरिकी राष्ट्रपतिको एयर फोर्स विमान जापानमा रहेको अमेरिकी सैनिक शिवीर, युएस योकोता एयर बेसमा अवतरण गरेको थियो ।
सो सैनिक शिवीरमा अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी र जापानी सैनिकलाई सम्बोधन पनि गर्नुभएको थियो ।
उहाँ र जापानी प्रधानमन्त्री सिन्जो आबेसँग द्विपक्षीय वार्ता हुनेछ । त्यसअघि आज अपरान्ह उहाँहरु दुवै जना टोकियोभन्दा बाहिर रहेको ‘कन्ट्रि क्लब’ मा गल्फ खेल्ने कार्यक्रम रहेको छ ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको सम्मानमा आज साँझ जापानमा रात्रिभोजको आयोजना गर्नुहुने कार्यक्रम रहेको जापानी विदेशमन्त्रालयले जानकारी दिएको छ ।
जापानी प्रधानमन्त्री आबेले अमेरिकी राष्ट्रपतिको जापान भ्रमण ऐतिहासिक भएको टिप्पणी गर्नुभएको छ । उहाँले यस भ्रमणका माध्यमबाट यी दुई देशबीचमा यसअघि कहिल्यै नभएको सम्बन्ध विकास हुनेमा आफूले विश्वास लिएको बताउनुभएको छ ।
यसअघि उक्त सैनिक शिवीरमा सम्बोधन गर्ने क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले पनि अमेरिका र जापानबीचको सम्बन्ध अहिले पनि सुमधुर रहेको र आगामी दिनमा पनि यी दुई देश व्यापारिक तथा अन्य आवश्यक सबै एजेण्डाहरुका कारण झनै सुदृढ हुने बताउनुभएको थियो ।
राष्ट्रपति ट्रम्पले मङ्गलबार जापानी सम्राट अकिहितो र महारानी मिचिकोसँग भेटवार्ता गर्नुहुने बताइएको छ । त्यस अगावै जापानी प्रधानमन्त्रीसँग द्विपक्षीय वार्ता हुनेछ ।
सो वार्ता अन्य विषयहरुका अतिरिक्त द्विपक्षीय व्यापार, लगानी र क्षेत्रीय सुरक्षाका विषयमा बढी केन्द्रित हुने अपेक्षा गरिएको अधिकारीहरुले जनाएका छन् ।
पछिल्लो समयमा उत्तर कोरियाका कारणले उसको छिमेकी देश जापानलाई पनि ठूलो चुनौती भएको छ । केही समयअघि त एउटा क्षेप्यास्त्र उत्तर कोरियाले जापानको आकासहुदै परीक्षण गरेको थियो ।
यस्तो अवस्थमा उत्तर कोरियाले प्रमुख दुश्मनी ठानेको अमेरिकाका राष्ट्रपतिको जापान भ्रमण हुनुलाई राजनीतिक रुपमा पनि एक ठूलो महत्वका विषयका रुपमा लिन सकिन्छ ।
अमेरिकी राष्ट्रपतिलाई कोरियामा विशेष स्वागत गर्न जनतालाई अपिल
सोल, १९ कात्तिक (रासस-सिन्ह्वा) – दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले अमेरिकी राष्ट्रपतिलाई कोरियामा विशेष स्वागत गर्न आफ्ना जनतालाई अपिल गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प अर्को हप्ता दक्षिण कोरियाको भ्रमणमा आउन लाग्नुभएको छ । सोही क्रममा उहाँलाई विशेष रुपमा स्वागत गर्नका लागि दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालयले कोरियाली जनतालाई आग्रह गरेको बताइएको छ ।
कोरियाली राष्ट्रपतिका प्रवक्ताले आइतबार सोलमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो ।
प्रवक्ता पार्क सुयुनले भन्नुभयो– दक्षिण कोरियाली सरकारले अमेरिकी राष्ट्रपति ट्रम्पको भ्रमणलाई राजकीय भ्रमणको मान्यता दिएको छ र सोही बमोजिम सरकारले सम्मान प्रदान गर्नेछ ।
त्यसैले उहाँलाई न्यानो आतिथ्य प्रदान गर्न आम नागरिकलाई पनि आग्रह गरिएको उहाँले बताउनुभयो । यस भ्रमणलाई विशेष महत्वको भ्रमणका रुपमा कोरिया सरकारले लिएको पनि उहाँको भनाई थियो ।
उहाँले अमेरिकी राष्ट्रपतिले गएको २५ बर्षपछि पहिलो पटक कोरियाको भ्रमण गर्न लाग्नुभएकोले पनि यस भ्रमणलाई अमेरिकासँगको सम्बन्धमा विशेष रुपमा लिइएको उहाँले बताउनुभयो ।
उत्तर कोरियाका कारण पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी तनावको वर्तमान अवस्थामा अमेरिकी राष्ट्रपतिबाट हुन लागेको यो भ्रमणलाई महत्वपूर्ण रुपमा लिइएको छ ।