एनआरएनए यूके सातौं कार्यसमितिको सय दिन पुरा

लन्डन । एनआरएनए यूकेको वर्तमान सातौं कार्यसमितिको 
सय दिन पुरा भएको छ । यही अवसरमा आइतबार डिसेम्बर १७ का दिन अल्डरसटमा एक विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा एनआरएनए यूकेस्थित कार्यालयको समेत उद्घाटन भएको छ । एनआरएनए यूके अध्यक्ष योगकुमार फगामी र कार्यक्रमका प्रमुख अतिथि तथा आइसिसी उपाध्यक्ष कुल आचार्यले संयुक्त रूपमा कार्यालय उद्घाटन गरेका हुन् ।

एनआरएनए यूकेको कार्यसम्पादन अबदेखि अल्डरसटको ‘९ ए हाइ स्ट्रिट’ स्थित सोही कार्यालयबाट सञ्चालन गरिने बताइएको छ । त्यस अवसरमा बेलायतबाट हालै आइसिसीको सल्लाहकार मानार्थ परिषद सदस्य तथा को-अप आइसिसी सदस्यमा मनोनित हुनेहरूलाई सम्मान गरियो ।

त्यस्तै, एनआरएनए यूकेको को-अप सदस्यमा मनोनित हुने सदस्यहरूलाई प्रमाणपत्र पनि वितरण गरियो । कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए आइसिसी उपाध्यक्ष कुल आचार्य, सल्लाहकार सुरेन्द्र श्रेष्ठ, एनआरएनए यूकेका पूर्वअध्यक्षद्वय सूर्य गुरुङ र मुछेत्र गुरुङ, आइसीसी सदस्य रामशरण सिंखडालगायतले सातौं कार्यसमितिले सय दिन पुरा गरेकोमा बधाई दिदै बांकी कार्यकालका लागि शुभकामना दिए ।

सल्लाहकार श्रेष्ठले दोहोरो नागरिकताको मुद्दासम्बन्धी जानकारी गराउनुका साथै यसका लागि एकजुट भएर अगाडि बढेमा अवश्य जित हांसिल गर्ने बताए । पूर्वअध्यक्ष सूर्य गुरुङले संघमा सबै सकारात्मक भई अघि बढनुपर्ने र सके राम्रा काममा सबैले सहयोग गर्ने अन्यथा कसैलाई नराम्रो नगर्ने परिपाटीको विकास गर्नुपर्ने बताउदै संघले विगतमा धेरै राम्रा कामहरू गरेको र नेपाल हाउसको प्रोजेक्टलाई अगाडी बढाउन सुझाव दिए ।

त्यसैगरी निवर्तमान अध्यक्ष मुछेत्र गुरुङले संस्था सञ्चालन गर्ने क्रममा कयौं पटक ‘फ्रस्टेसन’ हुन सक्ने तर सबैलाई समेट्दै निरन्तर शान्त भई अगाडि बढ्नुपर्ने बताएका थिए । तमुधिं यूके अध्यक्ष ज्ञाम गुरुङले एनआरएनएको सबै राम्रा कामहरुमा आफ्नो संस्थाले सहयोग पुरयाएको तथा भविष्यमा पनि सहयोग गर्ने जानकारी गराए ।

उपाध्यक्ष आचार्यले एनआरएनए यूकेले सधैं नै उदाहरणीय कार्य गर्दै आएको र यो नयां टिमको उत्साहबाट प्रभावित भएको तथा केन्द्रमा आफू उपाध्यक्ष भएपनि बेलायतमा साधारण सदस्यसरह कार्य गर्न सधैं उत्सुक रहेको बताए । उनले एनआरएनए यूकेको डिजिटल एनआरएनए अवधारणलाई अगाडि बढाउन अनुरोध गर्दै आफ्नो तर्फबाट सबै प्रकारको सहयोग रहने जानकारी गराए ।

अध्यक्ष फगामीले बेलायतवासी नेपालीहरूको ग्रास रुटसम्मै पुगेर संस्थालाई सबैको साझा बनाउने आफ्नो लक्ष्य दोहोरयाए । फगामीले एनआरएनए यूकेको यस्तो कार्यक्रम पहिलो भएको जनाउंदै सबै अभियन्ता तथा अग्रजको हौसला र शुभकामनाले आफ्नो कार्यसमिति थप उत्साहित भएको उल्लेख गरे । उनले संघको सचिवालयबाट अबदेखि निरन्तर सेवा प्रदान गरिने जनाउंदै सबै संघ–संस्था तथा एनआरएनका अभियन्तालाई धन्यवाद दिए ।

सो अवसरमा एनआरएन यूकेका प्रवक्ता रमेश सराङकोटीले १ सय दिनको उपलक्ष्यमा प्रकाशित हुन लागेको विशेषाङ्कबारे प्रस्तुति दिएका थिए । पत्रिकामा प्रकाशन गर्न लागिएको आठ पेजको यस विशेषाङ्क बेलायतमा रहेका नेपाली मिडियालाई आर्थिक रूपमा सक्षम बनाउने एक प्रयोग भएको उनले दावी गरे ।

झण्डै दुई सयको हाराहारीमा रहेका नेपाली संघ संस्थाले आफ्नो सय दिनको विशेषाङ्क वा आफ्नो वार्षिक अधिवेशनको विशेषाङ्क प्रकाशन गर्ने परम्परा बसेमा यसले बेलायतमा रहेको नेपाली पत्रकारिताको दिगो विकासमा कोशेढुङ्गा सावित हुने उनले बताए । प्रवक्ता सराङकोटीले संस्थाका हाल सम्मको कार्यहरुको विवरण, भावी योजना र कार्यक्रमबारे समेत बताएका थिए ।

एनआरएनए यूकेलाई वेबीनारको माध्यमबाट अनलाइन बैठकहरु सञ्चालन गर्ने, भविष्यमा इ-भोटिङगका लागि तयारी, इलेक्ट्रोनिक परिचयपत्र सहित डिजिटल एनआरएनको विकास गर्ने कामको सुरुवात भएको समेत उनले जानकारी दिए ।

उपाध्यक्ष प्रेम गाहा मगरले च्यारिटी विभागका भावी कार्यक्रमहरूको योजना प्रस्तुत गरेका थिए । अर्का उपाध्यक्ष ललित न्यौपानेले राज्य तथा क्षेत्र समन्वय विभागका कामहरु आगामी दुई महिनामा गरिने कार्यक्रममा जानकारी गराए । उपाध्यक्ष शेर सुनारले सबै सदस्यलाई परिचयपत्र पोष्ट मार्फत वितरण गरिसकिएको र कसैले नपाएको अवस्थामा सम्पर्क गर्न अनुरोध गर्दै एनआरएनए आइसीसी अध्यक्ष भवन भट्ट बेलायत आउने तयारीका बारेमा जानकारी गराए ।

त्यसअवसरमा एनआरएनए यूकेका पूर्व उपाध्यक्ष राष्ट्र राईको संयोजकत्वमा तेक्वान्दो प्रतियोगितामा भाग लिन नेपाल जान लागेका खेलाडीलाई खादा ओढाएर सफलताको शुभकामना दिइएको थियो । विगतका वर्षहरु देखि युवा सशक्तिकरण गर्नका लागि यस कार्यक्रमलाई संघले आर्थिक सहयोग गर्दै आएको छ ।

कार्यक्रममा उपाध्यक्ष पुनम गुरुङले स्वागत मन्तव्य राखेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री