बेइजिङ, २३ पुस – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफू उत्तर कोरियाली नेतासँग कुरा गर्न इच्छुक रहेको बताउनुभएको छ ।
डेभिड क्याम्प रिसोर्टमा सम्वाददाताहरुसँग उहाँले भन्नुभयो– ‘म उत्तर कोरियाली नेतासँग वार्ता गर्न चाहन्छु, तर अहिले नै कुराकानी गरेको भने छैन ।’
सम्वाददाताहरुले उहाँले उत्तर कोरियाली नेता किम जोङ उनसँग फोनमै भएपनि कुराकानी गर्नुभएको त छैन भनी गरिएको प्रश्नको जवाफमा उहाँले सो धारणा राख्नुभएको हो ।
उहाँले भन्नुभयो– ‘म सधैँ वार्तामा विश्वास गर्ने मान्छे हुँ र उत्तर कोरियाली नेतासँग पनि वार्ता गर्ने कुरामा म इच्छुक छु भनेर बुझ्दा हुन्छ ।’
राष्ट्रपति ट्रम्पले दुई कोरियाबीच हुन गइरहेको वार्ताको पनि स्वागत गर्नुभयो । उहाँले भन्नुभयो– ‘म त सधैँ वार्ताकै माध्यमबाट सबै समस्याको समाधान गर्नुपर्छ भन्नेमा विश्वास गर्छु र अमेरिकाको धारणा पनि यही हो ।’ दुई कोरियाबीच हुन गइरहेको वार्ताको स्वागत गर्दै उहाँले यस वार्ताबाट उनीहरुबीच आगामी दिनमा पनि सौहार्द वातावरण निर्माण हुन सकोस भन्ने आफ्नो धारणा रहेको पनि बताउनुभयो ।
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । दक्षिण कोरियाली अधिकारीहरुले वार्ताको तयारी भइरहेको जानकारी दिएका छन् ।
पछिल्लो समयमा यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । उक्त उच्चस्तरीय वार्ताको संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले पनि स्वागत गर्नुभएको छ ।
उत्तर कोरियाले पठायो वार्ता टोलीका सदस्यको नाम
सोल, २३ पुस – दक्षिण कोरियासँग गर्ने तय भएको उच्चस्तरीय वार्ताका लागि उत्तर कोरियाले पनि आफ्नातर्फका वार्ता टोलीका सदस्यको नाम दक्षिण कोरियालाई पठाएको आइतबार प्राप्त समाचारमा जनाइएको छ ।
दक्षिण कोरियाको राष्ट्रिय एकीकरण मन्त्रालयले आइतबार यो जानकारी दिएको छ । सो मन्त्रालयले आइतबार दिएको जानकारी अनुसार सो वार्ता टोलीमा पाँच सदस्य रहेका छन् र सो टोलीको नाम हालै स्थापित सिधा सञ्चार सम्पर्क (हट लाइन कम्युनिकेशन) मार्फत पठाइएको हो ।
यसअघि पनि हिजो शनिबार मात्र दक्षिण कोरियाका राष्ट्रिय एकीकरण मन्त्री चो म्योङ गियोनको नेतृत्वमा रहेको पाँच सदस्यीय उच्च अधिकारीको नाम दक्षिण कोरियाले पनि उत्तरको जानकरीका लागि पठाएको थियो ।
सो नामपछि उत्तर कोरियाका तर्फबाट पनि सो वार्ता टोलीमा सदस्यको नाम दक्षिण कोरियाको जानकारीका लागि पठाइने अपेक्षा गरिएको थियो । सो अपेक्षा बमोजिम नै उत्तरले पनि आइतबार सो नामावली पठाएको जनाएको छ ।
आगामी हप्ता यी दुई देशबीच उच्चस्तरीय वार्ता हुने भएको छ । उत्तरका तर्फबाट वार्तामा सहभागी हुने सदस्यको नाम आइतबार प्राप्त हुने सोलले जनाए बमोजिम नै आज सो नामावाली प्राप्त भएको छ ।
उत्तर कोरियाको एक एजेन्सीका प्रमुख रहेका रि सुन गाउनको नेतृत्वमा सो नामावाली दक्षिणलाई उत्तरले पठाएको छ । गाउनको नेतृत्वमा सहभागी हुने पाँच जना सदस्यको नाम नै उत्तरले सार्वजनिक गरेको हो ।
उक्त हटलाइन सेवा करिब दुई वर्षपछि पहिलोपटक गत बुधबारमात्र पुनःस्थापना गरिएको हो । जसका कारण यी दुई देशबीचमा आगामी दिनमा वार्ता र सौहार्दताका लागि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
दक्षिण कोरियाले गरेको प्रस्तावअनुसार आगामी मङ्गलबार, जनवरी ९ मा यी दुई देशबीचको उच्चस्तरीय वार्ता हुने तय भएको छ । सोही बमोजिम तयारी भइरहेको दक्षिण कोरियाली अधिकारीहरुले जानकारी दिएका छन् ।
नयाँ वर्षको अवसरमा जनवरी १ मा उत्तर कोरियाली नेता किम जोङ उनले गर्नुभएको सम्बोधन पछि परिस्थिति फेरिएको छ । उहाँको सो सम्बोधनमा दक्षिण कोरियाले गरेको उक्त उच्चस्तरीय द्विपक्षीय वार्तामा उत्तर कोरिया सहभागी हुने संकेत आएको थियो ।
त्यसयता यी दुई देशबीचको सम्बन्धमा केही सुधार आएको महसुस भएको बताइएको छ । साथै दक्षिण कोरियामा आयोजना हुन लागेको फेब्रुअरी महिनाको शीतकालीन ओलम्पिक खेलमा पनि उत्तर कोरियाले सहभागिता जनाउने बताएको छ ।
दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियाली नेताको सम्बोधनको स्वागत गर्दै वार्ताका लागि तयारी थाल्न सम्बद्ध अधिकारीलाई निर्देशन दिनुभएको छ ।
सोही वार्ताका लागि शनिबार दक्षिण कोरियाले सदस्यहरूको सूची उत्तरलाई पठाएको हो । त्यसैगरी उत्तर कोरियाले पनि आफ्नातर्फका सदस्यको सूची सार्वजनिक गरेपछि वार्ता अगाडि बढ्ने अपेक्षा गरिएको छ ।