नेपका एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिको बैठक वालकोटस्थित एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास भक्तपुरमा बस्दै । तस्वीर – रोशन सापकोटा, रासस
भक्तपुर, २५ पुस – नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच पार्टी एकता गर्न बनेको संयोजन समितिको बैठकले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनका लागि छ सदस्यीय कार्यदल बनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा आज बसेको बैठकले सो कार्यदल बनाएको एमाले नेता वामदेव गौतमले बताउनुभयो । उहाँका अनुसार, कार्यदलमा एमालेबाट नेता सुवास नेम्वाङ, शंकर पोखरेल र सुरेन्द्र पाण्डे एवं माओवादी केन्द्रबाट नेता रामबहादुर थापा, वर्षमान पुन र मातृका यादव रहनुभएको छ ।
बैठकपछि संचारकर्मीलाई प्रतिकृया दिँदै नेता गौतमले राष्ट्रियसभा निर्वाचन तथा प्रदेशसभा र प्रदेश सरकार गठनबारे कार्यदलले काम गर्ने बताउनुभयो । राजनीतिक तथा कानूनी विषयमा तयारी गरेर कार्यदलले पार्टीलाई सुझाव दिने गरी कार्यदल बनाइएको उहाँले बताउनुभयो । गौतमले पार्टी एकताको विषयमा कुनै शंका नगर्न आग्रह गर्दै एकतामा कुनै विवाद र विमति नरहेकाले छिट्टै पार्टी एकतालाई टुङ्गोमा पुरयाउने निष्कर्षसमेत बैठकले निकालेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘आजको बैठकमा अत्यन्त गम्भीरताका साथ हामीले छलफल गरयौँ, पार्टी एकता गर्ने सम्बन्धमा कुनै विवाद, प्रश्न र विमति छैन, त्यसैले पार्टी एकता हुदैन कि भन्ने कल्पना पनि नगर्न कार्यकर्तालाई आग्रह गर्ने निर्णय भएको छ, नकारात्मक ढंगले सोच्ने आवश्यकता पनि छैन, पार्टी एकताबारे हामी गम्भीर छौँ ।’
बैठकमा पार्टीको वैचारिक, राजनीतिक र संगठनबारे गृहकार्य गर्न समेत कार्यदल बनाउने सहमति भएको छ । पार्टी एकता सम्बन्धमा भने अर्को बैठकबाट कार्यदल निर्माण गर्ने सहमति भएको छ । यसबीचमा कार्यदल निर्माण गर्न थप गृहकार्य हुने नेता गौतमको भनाइ छ ।
बैठकले पार्टी एकताका लागि सांगठानिक र सैद्धान्तिक विषयको टुंगो लगाउन कार्यदल बनाउने भनिए पनि त्यसको तय गर्न भने सकेन । एकता संयोजन समितिको बैठकपछि नेताहरुले पार्टी एकताको विषयमा कुनै विवाद नभएको बताएका छन् ।
बैठकले निर्वाचित जनप्रतिनिधिलाई सत्ता हस्तान्तरणका लागि आवश्यक न्यूनतम संवैधानिक र कानूनी प्रक्रिया पूरा गर्ने र दैनिक कार्यसञ्चालन बाहेक अन्य निर्णय नगर्न सरकारलाई आग्रहसमेत गरेको छ । त्यसैगरी सरकारलाई संवैधानिक अधिकार प्रयोग गर्दै प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुख तोक्न आग्रह गरेको छ ।
अध्यक्ष ओली स्वास्थ्य परीक्षण गरी फर्केलगत्तै संयोजन समितिको बैठक फेरि बसेर त्यसले पार्टी एकताका सम्बन्धमा आवश्यक निर्णय गर्ने भएको छ । ओली उपचारका लागि बुधबार एक साता बैंकक जाँदै हुनुहुन्छ ।