डा केसी साधारण तारेखमा थुनामुक्त

सोमबार पक्राउ परेका त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ चिकित्सक प्राडा गोविन्द केसी साधारण तारिखमा रिहाइपछि सर्वोच्च अदालतको परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर – रत्न श्रेष्ठ, रासस

काठमाडौँ, २६ पुस – सर्वोच्च अदालतले आज वरिष्ठ चिकित्सक प्रा डा गोविन्द केसीलाई साधारण तारेखमा थुनामुक्त गर्न आदेश दिएको छ ।

न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको संयुक्त इजलाशले अदालतको अवहेलना मुद्दाको सुनुवाइपछि यस्तो आदेश दिएको हो ।

केसीलाई शिक्षण अस्पताल लगियो

सर्वोच्च अदालतले तारेखमा रिहा गर्ने आदेश दिएपछि प्रा डा गोविन्द केसीलाई महाराजगन्जस्थित शिक्षण अस्पताल लगिएको छ ।

प्रधानन्यायाशीध गोपाल पराजुलीले राजीनामा नदिएसम्म अनशन बस्ने प्रा डा केसीले जानकारी दिनुभएको छ ।

डा केसीको अविलम्ब रिहाइको माग गर्दै आज पनि माइतीघर मण्डलामा प्रदर्शन गरिएको थियो । सर्वोच्च अदालतको अवहेलना मुद्दामा सोमबार पक्राउ पर्नुभएका डा केसीको रिहाइको माग गर्दै उहाँका समर्थकले आज माइतीघरमा विरोध प्रदर्शन गरेका थिए ।

चिकित्सा शिक्षा अध्ययन संस्थानको चार वर्षअघिको डिन पुनःबहालीसम्बन्धी सर्वोच्च अदालतले गत आइतबार गरेको आदेश न्यायसङ्गत नभएको भन्दै डा केसीले प्रधानन्यायाधीशको राजीनामाको मागसहित सोमबारदेखि अनिश्चितकालीन आमरण अनशन शुरु गर्नुभएको थियो ।

प्रधानन्यायाधीशको राजीनामा र उहाँले गरेका कामबारे छानबिन गर्न माग गरेपछि उहाँलाई अदालतको अवहेलना गरेको आरोपमा प्रक्राउ गरिएको थियो । डा केसी चार वर्षअघि बर्खास्तमा परेका संस्थानका डिन डा शशी शर्मालाई सर्वोच्चले पुनःबहाली गरेपछि त्यस कदमको विरुद्धमा उत्रनुभएको हो ।

आफ्ना मागसहित १४ औँ आमरण अनशन शुरु गर्नुभएका डा केसीले प्रहरी हिरासतमा पनि अनशन जारी राख्नुभएको थियो । मंगलबार उहाँलाई सर्वोच्च अदालतमा उपस्थित गराई बयान लिइएको थियो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री