मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा राष्ट्रपति कार्यालयमा आयोजित शुभकामना तथा जलपान समारोहमा सहभागी हुँदै राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा र प्रधानन्यायाधीश गोपाल पराजुली । तस्बिर – रत्न श्रेष्ठ, रासस
काठमाडौँ, १ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले मकर संक्रान्ति तथा माघी पर्वको अवसरमा शुभकामना तथा जलपान कार्यक्रमको आयोजना गर्नुभयो ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा आज आयोजित सो कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, पूर्व उपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रिपरिषद्का अध्यक्ष लगायतको सहभागीता थियो ।
यसैगरी कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य, मुख्य सचिव, प्रधानसेनापति, कलाकार, सञ्चारकर्मीको पनि सहभागिता थियो ।
थारु समुदायले आजको दिनलाई नयाँ वर्षका रुपमा धुमधामका साथ उन्मुक्ति दिवसका रुपमा मनाउने गर्दछन् । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण शुरु हुने भएकाले माघ १ गतेलाई मकर सङ्क्रान्ति भनिन्छ ।
साउन १ गतेदेखि शुरु भएको दक्षिणायन अन्त्य भई माघ १ गतेदेखि नै उत्तरायण शुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् । उत्तरायण शुरु हुने दिनको स्नान, जप, तप, ध्यान, साधना, दान आदिलाई पुण्यदायक मानिन्छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडी, बेत्रावतीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको भीड लाग्छ । यी स्थानमा भव्य मेला समेत लाग्ने गर्छ ।
मकर संक्रान्तिमा कालीगण्डकीमा घुइँचो
गुल्मी, १ माघ – गुल्मी, पाल्पा र स्याङ्जा जिल्लाको संगमस्थल रिडी क्षेत्रस्थित कालीगण्डकी नदीको किनारमा आज बिहानैदेखि माघे संक्रान्ति मेला भयो ।
विभिन्न स्थानबाट धार्मिक क्षेत्र रिडी आएका हजारौं श्रद्धालु भक्तजनले कालीगण्डकी नदीमा मकर नुहाएका छन् ।
नुहाई सकेपछि श्रद्धालु भक्तजनले नजिकै रहेको रिषिकेश मन्दिरमा पुगेर भगवानको पूजा आराधना गरे । यसरी पूजा आराधना गरेपछि मानिसले अन्जानमा गरेका सम्पूर्ण पाप नष्ट भई मोक्षप्राप्ति हुने जनविश्वास छ ।
गुल्मीलगायत पाल्पा, स्याङ्जा, अर्घाखाँची, बाग्लुङ, रुपन्देही, दाङ, सल्यान, प्यूठान लगायतका जिल्लाबाट कालीगण्डकी नदीमा स्नान गर्नका लागि श्रद्धालु भक्तजनले संक्रान्तिको अघिल्लो दिनमा नै रुरु क्षेत्रधामअन्तर्गत रिडीस्थित कालीगण्डकी किनारमा बास बस्ने गर्दछन् ।
श्रद्धालुले विशेषगरी मकर संक्रान्तिका दिनमा कालीगण्डकीमा स्नान गर्नाले देव ऋण, पितृ ऋण तथा रिषि ऋणसमेत तिरिने धार्मिक विश्वासका कारण हजारौँ श्रद्धालु रिडी क्षेत्र धाममा आउने प्रचलन छ । नेपालका चार धाममध्ये एक धामका रुपमा परिचित रिडी क्षेत्र, धार्मिक, ऐतिहासिक, पौराणिक एवं पर्यटकीय दृष्टिकोणलेसमेत स्वदेश तथा विदेशमा निकै महत्वपूर्ण मानिन्छ ।
कालीगण्डकीमा स्नान गरेर मन्दिर परिसरमा अवस्थित रुरु कन्याको दर्शन गरेमा पनि सम्पूर्ण पापबाट मुक्ति भई मोक्षप्राप्त हुन्छ भन्ने अर्को किंवदन्ती रहेको रुरु क्षेत्र विकास समितिका अध्यक्ष रामलाल विश्वकर्मा बताउनुहुन्छ ।
गुल्मीमा विषेशगरी जेठी, माइली र कान्छी गरी तीन दिनलाई मकर संक्रान्ति पर्व मानेर श्रद्धालु कालीगण्डकी नदीमा स्नान गर्न आउने प्रचलन छ । मकर संक्रान्तिका अवसरलाई सदुपयोग गर्दै स्थानीय रुरु फ्रेण्डस क्लबले रिडीको खेल मैदानमा आजदेखि नै राष्ट्रियस्तरका कलाकारको प्रस्तुतिसहित बृहत् सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरेको छ ।
रुरु क्षेत्रको महिमालाई अझ प्रचारप्रसार गर्नका लागि कृषि सामग्री प्रदर्शनीदेखि पहिलो पटक रुरु क्षेत्रको तस्वीर प्रदर्शनीमा राखिएको छ । प्रदर्शनीमा रुरु क्षेत्रसँग सम्बन्धित १०० भन्दाबढी तस्वीर समावेश गरिएका छन् ।
मकर संक्रान्तिको अवसर पारेर सञ्चालन हुने रिडी मेलामा विशेषगरी कम्मल, काम्ला, राडीपाखी तथा बाँसका चोयाबाट निर्मित सामग्रीका साथै ओखरका घाँजी, गुँड, सुन्तलालगायतका वस्तुको राम्रो व्यापार हुने गर्दछ । संक्रान्तिको अवसरमा रिडीमा व्यापार गर्नका लागि बाग्लुङ, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लादेखि तीन दिनसम्मको यात्रा गरी मानिस रिडी आइपुगेका छन् ।
मेलालाई व्यवस्थित गर्न गुल्मी, पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधिले चक्रिय प्रणालीमा अध्यक्ष पदमा नेतृत्व लिनेगरी रुरु क्षेत्र विकास समितिको गठन गरेका छन् ।
रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले धार्मिक एवं पर्यटकीयस्थल रिडी क्षेत्रको विकास, त्यसको प्रचारप्रसारका साथै मेलाको व्यवस्थापन कार्यमा सहयोग पुरयाउँदै आएको रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी अधिकृत नरेश भण्डारीले बताउनुभयो । –जनार्दन घिमिरे
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।