साहित्य महासंघद्वारा साहित्य दूत सम्मान घोषणा

लन्डन । विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिको गत २८ जनवरी २०१८ का दिन सम्पन्न बैठकले नेपाली साहित्यका महत्वपूर्ण ब्यक्तित्वहरुलाई ‘साहित्य दूत सम्मान २०१८’ घोषणा गरेको छ ।

विश्व सामु नेपालका उच्च ८ हिमालले जसरी नेपाललाई चिनाएको छ, त्यसरी नै नेपाली साहित्यलाई देश विदेशमा चिनाउने नेपाली पहिचान बोकेका देश विदेशका उत्कृष्ट ८ साहित्यकारलाई साहित्य दूत सम्मानको घोषणा गरिएको हो ।

महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र परदेशी, उपाध्यक्षद्वय डेन्जोम साम्पाङ, सागर श्रेष्ठ, महासचिव डा. लेखनाथ काफ्ले सम्मिलित छनौट समितिले सिफारिस गरेबमोजिम बैठकमा अध्यक्ष विश्वास दीप तिगेलाले सम्मानित व्यक्तित्व घोषणा गरेका हुन् । सम्मानित श्रष्टाहरुलाई ताम्रपत्रसहित एक कार्यक्रम गरि सम्मान अर्पण गरिने बताइएको छ । यसअघि सन् २०१४ मा पहिलो पटक साहित्य महासङ्घले साहित्य दूत सम्मान घोषणा गरेको थियो ।

नेपाली साहित्य दूत सगरमाथा प्रोफेसर तुलसी दिवस (नेपाल), नेपाली साहित्य दूत कन्चनजंघा प्रा डा. टंक प्रसाद न्यौपाने (नेपाल), नेपाली साहित्य दूत लोत्से मनप्रसाद सुब्बा (भारत), नेपाली साहित्य दूत मकालु टेक नारायण रिमाल (म्यानमार), नेपाली साहित्य दूत चोयो भक्त घिमिरे (भुटान-अमेरिका), नेपाली साहित्य दूत धौलागिरी अन्नपूर्ण लक्ष्मी राई (लारा यूके), नेपाली साहित्य दूत मनास्लु ठाकुरप्रसाद गुरागाईं (म्यानमार) र नेपाली साहित्य दूत भीम विरही (भारत) लाई सम्मान घोषणा 
गरिएको छ ।

सम्मानका लागि छनोट गरिएका व्यक्तित्व परिचय-

१. प्रोफेसर तुलसी दिवस- सन् १९४१ मा धनकुटामा जन्मनु भई काठमाडौंलाई कर्मभूमि बनाउनु भएका कवि दिवसको नेपाली साहित्यमा अतुलनीय योगदान छ । लोक संस्कृति र साहित्यमा उहांको अतुलनीय योगदान रहेको छ ।

२. डा. टंक प्रसाद न्यौपाने- धरानमा कर्मक्षेत्र बनाउंदै आउनु भएका डा. न्यौपानेको हालसम्म २० वटा कृति प्रकाशित छन् भने उहांले विगत ५० वर्षदेखि साहित्य क्षेत्रमा योगदान गर्दै आउनु भएको छ ।

३. मनप्रसाद सुब्बा- दार्जिलिङ भारतमा सन् १९५२ मा जन्मिएर विगत ४० वर्षदेखि नेपाली साहित्यमा योगदान दिंदै आउनु भएका सुब्बाको १२ वटा कृतिहरु प्रकाशित छन् ।

४. टेक नारायण रिमाल- वि.स. २००६ सालमा म्यानमारमा जन्मनु भएका रिमाल विगत ३० वर्षदेखि नेपाली साहित्यमा योगदान दिंदै आउनु भएको छ । उहांका ३ कृतिहरु प्रकाशित छन् ।

५. भक्त घिमिरे- भुटान देखि नेपाल र नेपालबाट अमेरिका पुग्नु भएका घिमिरेले नेपाली साहित्यका लागि लेखन सम्पादन लगायत विविध योगदान गर्नुभएको छ ।

६. लक्ष्मी राई (लारा)- हङकङ हुंदै यूकेमा बसोवास गर्दै आउनु भएकी साहित्यकार लाराको एक कृति प्रकाशित छ भने उहां ‘पात्रहरु संग एक सांझ’ साहित्यिक टेलिश्रृंखला सञ्चालिका पनि हुनुहुन्छ ।

७. ठाकुर प्रसाद गुरागाई- म्यानमारमा जन्मेर नेपाली साहित्यको निम्ति लामो समय देखि निरन्तर योगदान गर्नुभएको छ ।

८. भीम विरही- भारतमा रहेर नेपाली साहित्यमा योगदान पुरयाउंदै आउनु भएका राईको २ वटा कृति प्रकाशित छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री