राष्ट्रियसभा सदस्य निर्वाचन: २ नं प्रदेशमा सबै निर्विरोध, प्रदेश ३ र ६ मा निर्वाचन हुने

काठमाडौं- राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् भने प्रदेश नं ३ र ६ मा भने सबै पदका लागि निर्वाचन हुने भएको छ ।

निर्वाचन आयोगका अनुसार, यस निर्वाचनमा निर्वाचित हुने कूल ५६ पदमध्ये २४ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । जसमध्ये प्रदेश नं १ मा महिला तीन र अन्य तीन गरी छ उम्मेदवार निर्विरोध निर्वाचित भए । यस प्रदेशमा अब दलित एक र अपांगता-अल्पसङ्ख्यक एक गरी दुई पदका लागि मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।

त्यस्तै प्रदेश नं २ का सबै उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । प्रदेश नं ३ मा आठै पदमा मतदान हुनेछ भने प्रदेश नं ४ मा अपांगता-अल्पसङ्ख्यक एक पदमा उम्मेदवार निर्विरोध निर्वाचित भएकाले बाँकी सात पदका लागि निर्वाचन हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

आयोगका अनुसार प्रदेश नं ५ मा महिला तीन पदमा निर्विरोध निर्वाचित भएकाले बाँकी पाँच पदमा निर्वाचन हुनेछ । प्रदेश नं ६ मा सबै पदमा निर्वाचन हुँदैछ ।

त्यस्तै प्रदेश नं ७ मा महिला तीन र अन्य तीन गरी छ पदमा उम्मेदवार निर्विरोध भएकाले अब दलित एक र अपांगता-अल्पसङ्ख्यक एक गरी दुई पदमा मात्र निर्वाचन हुने आयोगले जनाएको छ ।

यही माघ २४ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आयोगले हिजो माघ १५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरेको थियो । निर्वाचन चिह्न पाएसँगै उम्मेदवारले निर्वाचन प्रचारप्रसार शुरु गरेका छन् । आयोगका अनुसार अब सातै प्रदेशमा गरी ३२ पदका लागि ५२ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।

राष्ट्रिय सभा निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाका प्रमुख र उपप्रमुख गरी जम्मा एक हजार ५०६ र सातै प्रदेशका प्रदेशसभा सदस्य ५५० गरी जम्मा दुई हजार ५६ जना मतदाताले मताधिकार प्रयोग गर्ने संवैधानिक व्यवस्था छ ।

निर्वाचनमा प्रदेशसभाका सदस्यको मतभार ४८ हुनेछ भने स्थानीय तहका पदाधिकारीको मतभार १८ हुनेछ । नेपालको संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभा स्थायी सदन हुनेछ । राष्ट्रिय सभाको पदावधि छ वर्षको हुनेछ, तर यो संविधान प्रारम्भ भएपछि पहिलोपटक सदस्यको पदावधि कायम गर्दा गोलाप्रथाको माध्यमबाट एक तिहाइको दुई वर्ष, अर्को एक तिहाइको चार वर्ष र बाँकी एक तिहाइको छ वर्ष पदावधि कायम रहनेछ ।

धारा ८६ अनुसार राष्ट्रियसभामा निर्वाचक मण्डलको मतको भार फरक हुने गरी प्रत्येक प्रदेशबाट कम्तीमा तीन महिला, एक दलित र एक अपांगता भएका व्यक्ति वा अल्पसंख्यकसहित आठ गरी निर्वाचित ५६ जना रहन्छन् ।

त्यस्तै सरकारको सिफारिशमा राष्ट्रपतिबाट मनोनीत कम्तीमा एकजना महिलासहित तीन गरी जम्मा ५९ सदस्य रहने संवैधानिक व्यवस्था छ ।

आयोगले प्रकाशन गरेको नामावलीअनुसार प्रदेश नं १ मा ३६७, प्रदेश नं २ मा ३७९, प्रदेश नं ३ मा ३४८, प्रदेश नं ४ मा २३०, प्रदेश नं ५ मा ३०५, प्रदेश नं ६ मा १९८ र प्रदेश नं ७ मा २२९ मतदाता छन् ।

संविधानअनुसार संघीय व्यवस्थापिका प्रतिनिधिसभा र राष्ट्रियसभा गरी दुई सदनात्मक छ । त्यसमध्ये प्रतिनिधिसभाको निर्वाचन गत मंसिर १० र २१ गते दुई चरणमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री