लन्डनमा पहिलो पटक वृहत ‘कविता कन्सर्ट’ हुंदै

लन्डन । लन्डनमा पहिलो पटक वृहत ‘कविता 
कन्सर्ट’ हुने भएको छ । नेप्लिज ब्रिटिश कम्युनिटी यूके 
(एनबीसी यूके) ले नेपाली भाषा साहित्यको उत्थान 
एवं सर्लाहीका द्वन्द्व पीडित बालबालिकालाई सहयोग गर्ने उद्देश्यले उक्त पृथक च्यारिटी कार्यक्रम गर्न लागेको हो ।

लन्डन सडबरीस्थित हिमालयन क्लवमा बुधबार सांझ आयोजित प्रेस मिटमा आयोजकले अहिले नेपालका सर्वाधिक लोकप्रिय युवा कवि नवराज पराजुलीको प्रमुख प्रस्तुतिमा कविता कन्सर्ट गर्न लागिएको जानकारी दिएका छन् । उक्त कन्सर्टमा बेलायतको नेपाली डायस्पोरामा कलम चलाइरहेका केही चर्चित श्रष्टाहरुको समेत कविता वाचन हुनेछ ।

कार्यक्रम संयोजक एनबीसी यूके सल्लाहकार रामशरण सिम्खडाले कविता कन्सर्ट आगामी १० मार्च, शनिबार सांझ लन्डन ग्रीनफोर्ड टाउन हलमा हुने जनाए । ‘हामीले बेलायतमा विल्कुल पृथक कार्यक्रम गर्ने जमर्को गरेका छौं’, संयोजक सिम्खडाले भने, ‘पैसा तिरेर कविता सुन्न मानिस आउने नआउने जोखिमबीच ठूलै कार्यक्रम आंटिएको छ । यस्तो कार्यक्रम गर्नुको दुई उद्देश्य छन्- नेपाली साहित्यको उत्थान र प्रवर्धन एवं नेपालका द्वन्द्व पीडित बालबालिकाका लागि आर्थिक सहयोग जुटाउनु ।’

कन्सर्टमा करिब ५ सय जना उतार्ने र टिकेट सकेसम्म जोडी वा ‘बल्क’ मा परिवारलाई बेच्ने अनि प्रायोजकबाट उल्लेख्य रकम जुटाउने योजनामा आयोजक छन् । उक्त कार्यक्रमबाट बचेको सम्पूर्ण रकम द्वन्द्वकाल तथा तराई आन्दोलनमा आफ्ना बाबु आमा गुमाई असहज परिस्थितिमा बांचिरहेका हरिवन घुर्कयौली सर्लाहीस्थित चेतना सन्देश नेपालको संरक्षण रहेका बालबालिकालाई पठाइने संयोजक सिम्खडाले जनाए ।

चेतना सन्देश नेपाल संस्थामा हाल ४२ जना बालबालिका संरक्षित छन् । संस्थामा आश्रित बालिकाहरुका लागी छुट्टै आवास ब्यवस्था हुन नसक्दा पर्न गएको अप्ठ्यारो मनन गर्दै छुट्टै बालिका आवास र ‘इ लाइब्रेरी’ कक्ष बनाउने अभियानमा संकलित सबै रकम पारदर्शीरुपमा प्रयोग गरिने आयोजकको प्रतिवद्धता छ । यसअघि उक्त संस्थाका लागि एनआरएनए यूके महिला विभाग र धादिङ नुवाकोट समाज यूकेले पनि आर्थिक सहयोग गरेका थिए ।

सिम्खडाले उक्त पवित्र कार्यक्रममा बेलायतस्थित सबैको सहयोग रहने आशा पनि व्यक्त गरे ।

कार्यक्रम सफल बनाउन मिलन घिमिरे (अध्यक्ष), रामशरण सिम्खडा (कार्यक्रम संयोजक), कमल पौडयाल (सह संयोजक) र सदस्यहरु कमलराज खनाल, चुडामणी रेग्मी, ऋषि खनाल, समिरनाथ प्याकुरेल, लेखनाथ घिमिरे र अन्जु सिग्देल सम्मिलित ‘स्टेरिङ कमिटी’ समेत बनाइएको छ ।

कार्यक्रममा नेप्लिज ब्रिटिश कम्युनिटी यूके (एनबीसी यूके) का संयोजक मिलन घिमिरेले स्थापनाको झण्डै ८ वर्ष अवधिमा संस्थाले उल्लेख्य सामाजिक मानवीय कार्यक्रम गरेको जानकारी दिंदै सिमान्तकृत कान्धाका चेपाङ वस्ती, भूकम्प पीडित र बाढी पीडितलाई सहयोग लगायतका मानवीय क्रियाकलाप गरेको जनाए ।

कार्यक्रममा एनबीसी यूके संस्थापक अध्यक्ष कमल 
पौडयाल, पूर्व अध्यक्षहरु गंगा राना, कमलराज खनाल, सल्लाहकार कृष्ण तिमल्सेना, समिरनाथ प्याकुरेल, ऋषि खनाल, वसन्त नेपाल लगायतले विभिन्न सुझाव र जिज्ञासा मेटाएका थिए ।

सचिव चुडामणी रेग्मीले अपिल पढेर सुनाएका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री