नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बिहीबार बसेको एमाले–माओवादी पार्टी एकता संयोजन समितिको बैठकमा सहभागीहरु । तस्बिर – रमेश गिरी, भक्तपुर, रासस
भक्तपुर- नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पार्टी एकता संयोजन समितिले प्रदेशसभाको शक्ति बाँडफाँडसम्बन्धी गरेको निर्णयलाई अनुमोदन गरेको छ ।
बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकले दुई पार्टी सम्मिलित कार्यदलले पेश गरेको प्रतिवेदनलाई अनुमोदन गरेको हो ।
बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै एमालेका उपाध्यक्ष एवं कार्यदलका संयोजक वामदेव गौतमले कार्यदलले पेश गरेको प्रतिवेदनलाई बैठकले पारित गरेको जानकारी दिए । दुई पार्टीले प्रदेशसभाका लागि ७०/३० को आधारमा शक्ति बाँडफाँड गर्ने र जसमा चार वटा प्रदेशमा एमालेका मुख्यमन्त्री र सभामुख तथा दुई वटा प्रदेशमा माओवादीका मुख्यमन्त्री र सभामुख रहने गरी कार्यदलले गरेको निर्णयलाई बैठकले अनुमोदन गरेको हो ।
बैठकले दुई पार्टी एकताबारेमा अझै कसरत नपुगेको ठहर गरेको छ । बैठकबारे सञ्चारकर्मीलाई जानकारी दिँदै माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने, ‘पार्टी एकताका सम्बन्धमा अझै दुई-तीन चरणमा दुई पार्टीका शीर्ष नेतृत्वमा छलफल गरेर कार्यदल बनाउने कुरा भएको छ ।’
त्यसैगरी भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणका वेला एमाले, माओवादी केन्द्रसहित वाम गठबन्धनले भेटघाट गर्ने क्रममा निर्वाचनमा आएको परिणामअनुसारको साझा जनमतलाई आधार बनाएर कुराकानी गर्नेबारे सहमति भएको जनाएको छ । बैठकमा दुई पार्टीबीच हुने एकताका सम्बन्धमा पनि छलफल भएको थियो । बैठकमा दुई पार्टीका अध्यक्षले एकताबारे भएका प्रगतिको ब्रिफिङ गर्नुभएको बताइएको छ ।
बैठकमा एमाले अध्यक्ष ओली, उपाध्यक्ष वामदेव गौतम, नेताहरु ईश्वर पोखरेल, सुरेन्द्र पाण्डे तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेताहरु रामबहादुर थापा, वर्षमान पुनको सहभागिता थियो ।