राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बिहीबार महान्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन बुझाउँदै महान्यायाधिवक्ता वसन्तराम भण्डारी । तस्बिर – प्रदीपराज वन्त,रासस
काठमाडौँ, १८ माघ – राष्ट्रपति विद्यादेवी भण्डारीले जेलमा थुनुवाको बसाइँ र त्यहाँको वातावरणका विषयमा ध्यान दिनुपर्ने बताउनुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा उहाँले महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७३-०७४ प्रतिवेदन बुझ्दै थुनुवाको खानेकुरा (सिधा) वृद्धि गर्नुपर्ने बताउनुभयो ।
राष्ट्रपति भण्डारीले सरकारी वकिलको क्षमता वृद्धि गर्न तालीम र सुविधा वृद्धि गर्नुपर्नेमा जोड दिदैं महान्यायाधिवक्ता कार्यालयबाट भएका काम कारवाहीको प्रशंसा पनि गर्नुभयो ।
संविधान र संघीय कानूनबमोजिम महान्यायाधिवक्ता कार्यालयबाट सम्पादन भए गरेका कामको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुरुप महान्यायाधिक्ता वसन्तराम भण्डारीले राष्ट्रपतिसमक्ष कार्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभयो ।
सो अवसरमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापा, मुख्य सचिव लोकदर्शन रेग्मी, नेपाल सरकारका विशिष्ट श्रेणीका कर्मचारी, नायब महान्यायाधिवक्ता, सहन्यायाधिवक्ता लगायतको उपस्थिति थियो ।
महान्यायाधिवक्ता कार्यालयले चालु आवमा सरकार वादी भई चलाइएका मुद्दा २४ हजार ८८१ रहेका छन् । मुद्दा नचलाउने निर्णय गरेको १३१ मुद्दा र अपराधसम्बन्धी सरकारी मुद्दा ३१ हजार ४६२ रहेको छ ।
नेपाल सरकार वादी वा प्रतिवादी भई दायर भएका मुद्दा मामिलामा सरकारी वकिल कार्यालयबाट प्रतिरक्षा गरिएको मुद्दाको लगत ६० हजार ९१८ छ ।
पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।