प्रदेश १ र ४ मा बस्यो पहिलो प्रदेशसभा बैठक

विराटनगर, २२ माघ – प्रदेश नं १ को अस्थायी मुकाम विराटनगरमा आज प्रदेशसभाको पहिलो बैठक बस्यो ।

बैठकको अध्यक्षता गर्नुभएका जेष्ठ सांसद ओम प्रकाश सरावगीले प्रदेश प्रमुख गोविन्दबहादुर तुम्बाहाङद्वारा प्रदेशसभा बैठक आह्वान गरिएको पत्र पढेर सुनाउनुभएपछि राजनीतिक दलका प्रतिनिधिहरुको बोल्ने क्रम शुरु भएको थियो ।

बैठकमा ६ दलका एक–एक प्रदेशसभा सदस्य र एक स्वतन्त्र सदस्यले आ–आफ्ना धारणा राख्नुभयो । प्रदेशसभाको कार्य सञ्चालनका लागि नियमावली नबनेसम्मका लागि तयार पारिएको अन्तरिम कार्यविधि २०७४ लाई बैठकले पारित गरयो ।

सभामुखको अनुपस्थितिमा प्रदेशसभा बैठक सञ्चालन गर्न गणेश तामाङ, प्रतापप्रकाश हाङगाम, राम कुमार राई, राधा थापा र विष्णु तुम्बाहाम्फेलाई तोक्ने काम भयो ।

बैठकको प्रारम्भमा ज्ञात अज्ञात शहीदको सम्मानमा एक मिनेट मौन धारण गरिएको थियो । प्रदेशसभाको अर्को बैठक माघ २९ गते सोमबार दिनको एक बजे बस्नेछ । सोही दिन सभामुखको निर्वाचन गर्ने कार्यक्रम पनि तय गरिएको छ ।

‘विकास र समृद्धिका लागि स्वस्थ प्रतिस्पर्धा गरौं’

‘विकास र समृद्धि सबैको साझा एजेण्डा हुनुपर्छ । यही लक्ष्य प्राप्तिका लागि स्वस्थ्य प्रतिस्पर्धा गरौँ ।’ जिल्ला समन्वय समितिको सभाभवनमा भएको प्रदेश नं १ को पहिलो ऐतिहासिक प्रदेशसभा बैठकमा आज यही विचार मुखरित भयो । बैठकमा छ राजनीतिक दलका प्रतिनिधि र एक स्वतन्त्र सांसदले आ–आफ्ना मन्तव्य राख्नुभएको थियो ।

उहाँहरुले प्राकृतिक सम्पदामा धनी प्रदेश नं १ मा धार्मिकस्थल, पर्यटकीयस्थल, संसारकै अग्लो हिमाल, वनजङ्गल, खानीलगायतका धार्मिक र प्राकृतिक सम्पदा रहेको भन्दै यो प्रदेशलाई मुलुककै समृद्ध प्रदेश बनाउन राजनीतिक स्वार्थभन्दा माथि उठ्नुपर्नेमा जोड दिनुभयो ।

बैठकमा पहिलो वक्ता नेकपा (एमाले) का सांसद भीमप्रसाद आचार्यले हिमाल, पहाड र तराई मिलेर बनेको यस प्रदेशमा विकासको प्रचूर सम्भावना रहेको र विकासको ढोका खोल्न सबै एकजुट हुनुपर्ने बताउनुभयो । कृषि र जलस्रोतको विकास गरी औद्योगिक गतिविधिलाई गति दिनुपर्ने उहाँको भनाइ थियो ।

नेपाली काँग्रेसका सांसद चन्द्रप्रसाद श्रेष्ठले बहुजाति र बहुधार्मिक समुदायबीच भावनात्मक एकता कायम गर्ने दायित्व आपूmहरुको काँधमा रहेको बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का सांसद इन्द्रबहादुर आङ्बोले प्राप्त उपलब्धिलाई रक्षा गरी जनताका बीचमा गरिएका प्रतिबद्धतालाई पूरा गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । बेरोजगारी समस्याको समाधान खोज्नुपर्नेमा उहाँको जोड थियो ।

सङ्घीय समाजवादी फोरम नेपालका सांसद् जयराम यादवले राष्ट्रिय एकता र सार्वभौमिकतालाई अक्षुण्ण राख्नुपर्ने बताउनुभयो । स्थायी सरकार नबनेसम्म प्रदेशको पनि विकास हुन नसक्ने भन्दै उहाँले वाम गठबन्धनलाई स्थायी सरकार बनाउन आग्रह गर्नुभयो ।

राप्रपाका सांसद इन्दिरा राईले जातीयता र क्षेत्रीयताबाट माथि उठेर अगाडि बढ्नुपर्ने धारणा प्रकट गर्नुभयो ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका सांसद विष्णु तुम्बाहाम्फेले अस्तित्व पहिचानका लागि सङ्घर्ष भइरहेको उल्लेख गर्दै प्रदेश नं १ को पुनःसीमाङ्कन हुनुपर्छ भन्नुभयो ।  स्वतन्त्र सांसद नारायणबहादुर मगरले प्रदेश नं १ का विभिन्न पर्यटकीय स्थल र हिमशृङ्खलाको प्रचारबाट लाखौँ पर्यटक भित्रयाउन सकिने सम्भावनालाई औँल्याउनुभयो ।

मौलिक पहिरनमा सांसद 
अधिकांश प्रदेशसभा सदस्य दौरा सुरुवालमा हुनुहुन्थ्यो । सङ्घीय समाजवादी फोरमका सदस्य जयराम यादव कुर्ता पाइजामा, बण्डी र गम्छामा हुनुहुन्थ्यो । अधिकांश महिला सांसद साडी चोलोमा हुनुहुन्थ्यो भने सोलुखम्बुको ‘ख’ का प्रदेशसभा सदस्य बुद्धिकुमार राजभण्डारीले शेर्पाको पहिरन छेवा (बख्खु) र शेर्पाली टोपी लगाउनुभएको थियो । बैठकस्थलमा कडा सुरक्षा व्यवस्था गरिएको थियो ।

प्रदेश नं ४ का प्रदेशसभा सदस्यको एउटै स्वर – अरुभन्दा समृद्ध बनाउँछौँ

पोखरामा प्रदेश नं ४ को शुरु प्रदेशसभा बैठकमा प्रदेशसभाका सदस्यहरू । तस्बिर- हरि बास्तोला, पोखरा, रासस

पोखरा, २२ माघ – प्रदेश नं ४ को प्रदेशसभाको पहिलो बैठकमा सदस्यहरुले प्रदेश नं ४ लाई अरुभन्दा समृद्ध बनाउने अठोट गरेका छन् ।

उनीहरूले हिमालदेखि तराईसम्मका भूभाग समेटिएको सो प्रदेशमा उपलब्ध प्रचूर प्राकृतिक साधनस्रोतको उपयोग एकाकार भएर गर्ने बताए । प्रदेशसभा सदस्य पृथ्वीसुब्बा गुरुङले भन्नुभयो, ‘सबैभन्दा शान्त, सुन्दर, समृद्ध र सभ्य प्रदेश बनाउन जनताले हामीलाई दिएको अवसरलाई खेर जान दिने छैनौँ ।’ हरेक दृष्टिले समृद्धिका लागि सम्भावना बोकेको प्रदेशमा औद्योगिकीकरणको कमी भएको बताउँदै उहाँले पाँच वर्षभित्र गरिबीको रेखामुनि रहेका जनताको संख्या अन्य प्रदेशभन्दा निकै कम तुल्याइने प्रतिबद्धता गर्नुभयो ।

प्रदेशसभा सदस्य कृष्णचन्द्र नेपालीले जनतालाई लोकतन्त्रको आभास दिलाउनका लागि समुन्नत र सभ्य प्रदेश बनाउन विधि र सुशासनमा जोड दिन आवश्यक छ भन्नुभयो । उहाँले संविधानको भावनाअनुसार समानुपातिक र समावेशी सिद्धान्तलाई आत्मसात् गरेर अघि बढ्दा फलदायी परिणाम प्राप्त हुने पक्षलाई दृष्टिगत गरी मिलेर काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य हरिबहादुर चुमानले प्रदेश नं ४ को पर्यटन र जलस्रोतको सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य कृष्ण थापाले मुलुकलाई समृद्धिको मार्गतर्फ उन्मुख गराउन राजनीतिक भ्रष्टाचार तथा वैदेशिक हस्तक्षेप रोक्न आवश्यक भएको बताउनुभयो । अर्का सदस्य हरिशरण आचार्यले प्रदेशलाई समृद्ध तुल्याउने हो भने एकता र साझा भावनाले काम गर्नुपर्छ भन्नुभयो ।

प्रदेशसभा सदस्य किरण गुरुङले विकासमा सत्ता पक्ष र विपक्ष भन्ने हुँदैन भन्दै भ्रष्टाचारमुक्त समाजको निर्माणमा जोड दिनुभयो । प्रदेशसभा सदस्य दोबाटे विक, नेत्रनाथ अधिकारी, सिर्जना शर्मा, ललितकला गुरुङ र गायत्री गुरुङले विकास एवं समृद्धिका लागि सबैको एकताबद्ध प्रयास आवश्यक हुने बताउनुभयो ।

प्रदेश नं ४ को पोखरामा आयोजित प्रथम प्रदेशसभा बैठकको सुरक्षार्थ खटिएका मर्यादापालक । तस्विर-रासस

प्रदेश नं को सभामुखको निर्वाचन फागुन गते

पोखरा, २२ माघ –  प्रदेश नं ४ को प्रदेशसभा सभामुखको निर्वाचन आगामी फागुन ३ गते हुने भएको छ । आज बसेको प्रदेशसभाको पहिलो बैठकले फागुन ३ गते दिउँसो १ बजे सभामुखको निर्वाचन गर्ने निर्णय गरेको हो ।

बैठकले अन्तरिम कार्यविधि सर्वसम्मतिले पारित गरेको छ ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री