ट्राफलगर स्क्वायरमा बुद्ध जयन्ती मनाउन दूतावासको साथ

लन्डन । बुद्ध फाउण्डेशन यूकेले लन्डनको मुटु ट्राफलगर स्क्वायरमा मनाउन लागेको बुद्ध जयन्ती सफल बनाउन लन्डनस्थित नेपाली दूतावासले पनि साथ दिने भएको छ ।

फाउण्डेशनका अध्यक्ष दीपक श्रेष्ठको नेतृत्वमा सोमबार दिउसो दूतावास भवन गएको प्रतिनिधिमण्डललाई दूतावास उपनियोग प्रमुख शरदराज आरणले सहयोगको प्रतिवद्धता व्यक्त गरेका हुन् ।

उपनियोग प्रमुख आरणले उक्त कार्यक्रमको आर्थिक पक्षमा दूतावास संलग्न नहुने तर बेलायत सरकारका अधिकारी, विभिन्न कुटनीतिक नियोगका प्रतिनिधि तथा बेलायती मिडियाहरुलाई आमन्त्रण गर्न दूतावासले भरपुर सहयोग 
गर्ने स्पष्ट पारेको बैठकपछि अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । दूतावासले गत वर्ष ट्राफलगर स्क्वायरमै गरिएको बुद्ध जयन्तीमा पनि पूर्ण साथ दिएको थियो ।

छलफलमा दूतावासका द्वितिय सचिव लब सुवेदीसहित फाउण्डेसनका तर्फबाट अध्यक्ष श्रेष्ठ, सल्लाहकारहरु डा. कपिल रिजाल, फडिन्द्र भट्टराई, कुमार श्रेष्ठ, धर्म गुरुङ, कार्यसमितिका उपाध्यक्ष एभरेष्ट गौतम, कोषाध्यक्ष राजन खकुरेल, कार्यक्रम संयोजक सूर्य गुरुङ, सदस्यहरु जिवन सेन, महेन्द्रविक्रम कुंवर, हयारी गुरुङ, विकास नेपाल, निरन्जन खड्का, युवा संयोजक समिर गुरुङ, पत्रकार ध्रुवराज अर्याल लगायत सहभागी थिए ।

आगामी मे ५ तारिख शनिबार सांझ ६ देखि ९ बजेसम्म ट्राफलगर स्क्वायरमा कार्यक्रम गर्न फाउण्डेशनले स्थानीय निकायबाट अनुमति लिइसकेको छ ।

शान्तिका अग्रदूत भगवान बुद्धको जन्मभूमि नेपाल भएको तथ्य विश्वभर छर्न र बुद्ध जन्मस्थलबारे भइरहेका भ्रम निवारण गर्ने उद्देश्य अनुरुप लन्डनको केन्द्रमा कार्यक्रम गर्न लागिएको फाउण्डेशनका अध्यक्ष श्रेष्ठले जानकारी दिए । बुद्ध जयन्ती नेपालीको मात्र नभइ विश्वभरका धर्मावम्लीहरुको समेत विशेष पर्व भएकाले कार्यक्रममा राष्ट्रिय अन्तर्राष्ट्रिय भिक्षुहरु आमन्त्रण गर्ने प्रयास भइरहेको श्रेष्ठले बताए । लन्डन मेयर सादिक खान र अन्य बेलायती सांसदलाई समेत कार्यक्रममा निम्त्याउन आयोजक जुटेका छन् । कार्यक्रममा बुद्ध सम्वन्धि प्रवचन, 
पोस्टर चित्र प्रदर्शनी, दीप प्रज्वलन लगायत समावेश गरिनेछ ।

कार्यक्रम संयोजन सूर्य गुरुङले गरिरहेका छन् । फाउण्डेशनले कार्यक्रममा उत्साहजनक सहभागिताका लागि अनुरोध 
गर्दै त्यस दिन कार्यक्रम नजुधाइदिन सबै संघ संस्थासमक्ष अपिल गरेको छ ।

गत वर्ष ट्राफलगर स्क्वायरमा गरिएको बुद्ध जयन्ती कार्यक्रम व्यापक सफल बनाउन नेपाली दूतावास, एनआरएनए यूके, नेपाल पर्यटन बोर्ड यूके, कपिलवस्तु समाज यूके, तमुधि यूके लगायत संघसंस्थाले सहयोग गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री