आप्रवासीलाई एनएचएस शुल्क दोब्बर


लन्डन । बेलायत सरकारले आप्रवासीहरुलाई स्वास्थ्य सेवा शुल्क (एनएचएस फि) दोब्बर बनाउने घोषणा गरेको छ । दोब्बर शुल्क वृद्धिले स्वास्थ्य सेवाका लागि वार्षिक २२० मिलियन पाउण्ड थपिने सरकारका मन्त्रीहरुको विश्वास छ ।

अहिले ६ महिनासम्म वा त्यो भन्दा बढि बेलायतमा बस्न चाहने आप्रवासीले आवेदन दिंदा वार्षिक हेल्थ सरचार्ज वापत २०० पाउण्ड 
तिर्दै आएकामा अब ४ सय पाउण्ड बनाउने योजना ल्याइएको गार्डियनले जनाएको छ । हेल्थ सरचार्ज लिने व्यवस्था सन् २०१५ देखि लागू भएको हो । युरोपियन युनियनबाहेकका आप्रवासीले ६ महिना यूके बसेमा वा थप बस्न चाहेमा आवेदनसंगै स्वास्थ्य सेवा शुल्क तिर्न अनिवार्य छ । शरणार्थी आवेदन दिएका वा शरणार्थीहरुले भने यो रकम तिर्नु पर्दैन । इमिग्रेसन स्टाटस नहुनेलाई पनि आपतकालिन सेवामा यो शुल्क समावेश छैन् ।

बेलायती स्वास्थ्यमन्त्री जेम्स ओ साउनेसीले भनेका छन्, ‘ब्रिटिश करदाताको पैसामा सञ्चालित हाम्रो एनएचएस आवश्यक परेका बेला सधैं उपलव्ध छ । तर, लामो समयसम्म बेलायत बस्ने आप्रवासीले पनि एनएचएसलाई योगदान दिंदा यसको दीर्घकालिन विकास हुनेछ ।’

मन्त्रीहरुले २०१७ -०१८ सम्म विदेशी बिरामीहरुबाट ५ सय मिलियन पाउण्ड संकलन गर्ने अठोट लिएका छन् । सन् २०१६- ०१७ मा विदेशी बिरामीबाट ३५८ मिलियन पाउण्ड उठेको थियो जसमा २१० मिलियन पाउण्ड ‘इमिग्रेशन हेल्थ सरचार्ज’ बाट थियो ।

बेलायतको ‘हेल्थ एण्ड सोसियल केयर विभाग’ ले एनएचएसको आर्थिक संकटलाई मध्यनजर गर्दै सरकारले यो विन्टरमा ४३७ मिलियन पाउण्ड सहयोग गरेको बताएको छ । सरकारले पछिल्लो बजेटमा आगामी दुई वर्षका लागि २.८ बिलियन पाउण्ड अतिरिक्त छुट्याएको छ ।

एनएचएस बोर्डको एउटा दस्तावेजका अनुसार, लन्डनस्थित एउटा अस्पतालले वर्षमा ९०० आप्रवासी सुत्केरी महिलाको उपचार गरेको थियो जसमा ५ मध्ये चारजना उपचारको बिल नतेरी बाहिरिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री