काठमाडौँ, २ फागुन – एकता प्रक्रिया खाकालाई निष्कर्षमा पुरयाउन बसेको नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) पार्टी एकता संयोजन समितिको बैठकले नयाँ प्रधानमन्त्री चयनका लागि तत्काल राष्ट्रपतिसमक्ष दाबी प्रस्तुत गर्ने सहमति गरेको छ ।
एकता प्रक्रियाको ठोस खाकामा बुँदागत सहमति आउने अपेक्षा गरिएको सो बैठकले त्यसबारेमा बिहीबार निर्णय गर्ने समझदारी गरेको छ । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणाम राष्ट्रपतिसमक्ष आजै बुझाउने भएकाले अब आफूहरुले तत्काल सरकार गठन प्रक्रिया अघि बढाउनेमा कुनै दुविधा नभएको संयोजन समितिका सदस्य एवं केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
तत्काल सरकार बनाएर बहुदलीय प्रतिस्पर्धाका आधारमा मुलुकलाई आर्थिक सामाजिक रुपान्तरणका काममा मुलुकलाई अघि बढाउन ढिला भइसकेकाले नयाँ सरकार चाँडै बन्ने उहाँले बताउनुभयो ।
एकता बैठकअघिको एमाले स्थायी कमिटीको बैठकले आफ्ना अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा अघि सार्ने निर्णय गरिसकेको सन्दर्भमा एकता प्रक्रियालाई पनि तीव्रता दिन दुई दलले निर्णायक वार्ता गरेका हुन् ।
ललितपुरको मानभवनस्थित एक घरमा बसेको बैठकले दुई पार्टीका अध्यक्षहरु ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको वार्ता र गृहकार्यको बिफ्रिङ भई गम्भीरतापूर्वक छलफल भएको तर केही विषयमा टुङ्गो लगाउन पुनः बैठक बस्ने नेताहरुले बताउनुभयो ।
“कुरा नमिलेर होइन, आज सकारात्मक र गम्भीर कुरा भएको छ, समग्र विषयलाई टुङ्गो लगाउन आजकै छलफललाई निरन्तरता दिन बिहीबार बैठक बस्नेछ”–नेता श्रेष्ठले भन्नुभयो ।
संयोजन समितिका सदस्य एमाले वरिष्ठ नेता झलनाथ खनालले छलफल जारी रहेकाले निष्कर्ष बाहिर ल्याउन नसकिएको बताउनुभयो तर उहाँले थप प्रतिक्रिया दिन चाहानुभएन । दुई पार्टीबीच प्रधानमन्त्री र पार्टी अध्यक्षमा आलोपालो वा कसरी कार्यविभाजन गर्ने तथा वैचारिक राजनीतिक सिद्धान्तमा थप छलफल हुँदै आएको छ ।
संगठन र विचारसम्बन्धी कार्यदल बन्ने
आजको बैठकमा पार्टी एकताका लागि संगठनात्मक र वैचारिकसम्बन्धी दुई अलगअलग कार्यदल बनाउने सैद्धान्तिक सहमति भएको समितिका सदस्य एमाले उपाध्यक्ष वामदेव गौतमले जानकारी दिनुभयो ।
उहाँले कार्यदलका सदस्यहरुका नाम बिहीबार तय हुने जनाउँदै भन्नुभयो, “एकताको खाकाबारे ९५ प्रतिशत मिलिसकेको छ, ५ प्रतिशत मिलाउन पुनः बस्ने तय भएको हो, अब एकता हुने भन्नेमा कुनै विवाद छैन ।”
दुई पार्टीबीच निर्वाचनअघि गत असोज १७ मा पार्टी एकता गर्ने घोषणासहित चुनावी तालमेल भएको थियो ।