बेलायतमा भिड्दै नेपाली बक्सर

लन्डन । नेपाली बक्सर आदिप राना शनिबार सांझ बेलायतको नरवीचमा हुने ‘कन्टेन्डर्स २२’ प्रतियोगितामा भिड्दैछन् । ७० केजी तौल अन्तर्गत चारजना व्यवसायिक बक्सर (प्रोफेशनल फाइटर) बीच इपिक स्टुडियोमा हुने भिडन्त जितिनेमा उनी आशावादी देखिए । ‘अभ्यास एकदम राम्रो भएको छ । ०१६ को फाइटभन्दा बढि राम्रो प्रदर्शन गर्ने आत्माविश्वास छ’, रानाले शुक्रबार भने ।

तीन पटकका युरोपियन च्याम्पियनको कोचिङले पनि उनी बढि आशावादी भएका हुन् । उनी जिम लन्डन साउथबाट प्रतिनिधित्व गर्दैछन् । राना सन् २०१६ मा आयोजित ७३ केजी कन्टेन्डर्समा च्याम्पियन भएका थिए ।

सन् २०१४, नोभेम्बरमा बेलायत आएका राना नेपाल छंदा पनि बक्सिङ खेल्थे । उनी राष्ट्रिय प्रतियोगितामा तृतीयसम्म र क्योकुसिन करातेमा ललितपुर च्याम्पियन भइसकेका हुन् ।

यूके आएपछि सन् २०१५ मा उनले यहां आयोजित विभिन्न प्रतियोगितामा चारवटा उपाधि जिते । सन् २०१५ मा उनी अमेच्योर युरोपियन किक बक्सिङमा ७२ केजी अन्तर्गत च्याम्पियन भए भने उनले यसै वर्ष साउदर्न एरिया के वान ब्रिटिश च्याम्पियनको उपाधि चुमे । ७० केजी अन्तर्गत यूके फाइट क्लव च्याम्पियन पनि भए उनी । सन् २०१५ मै उनी इस्का च्याम्पियन (इन्टरनेशनल स्पोर्टस किक बक्सिङ एसोसिएसन) बने । भविष्यमा एमएमए (मिक्स मार्सल आर्टस) मा उत्रने उनको लक्ष्य छ । आमसञ्चार विषयमा स्नातकोत्तर गरेका उनी भूतपूर्व गोर्खाका सुपुत्र हुन् ।

रानालाई ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले एक कार्यक्रमबीच खेल सामाग्री हस्तान्तरण तथा खर्च प्रायोजन गरेको छ ।

कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गत रानालाई थप हौसला प्रदान गर्न र युवा पुस्तालाई खेलप्रति प्रेरित गर्न उक्त सहयोग गरिएको ए स्टार फाइनान्सियल सोलुसन्स यूकेका इन्डिपेन्डेन्ट फाइनान्सियल एडभाइजर मीन दर्लामीले बताए ।

प्रतियोगिताको पूर्व सन्ध्यामा शुक्रबार वेम्लीस्थित कार्यालयमा रानालाई शुभकामना दिंदै दर्लामीले भने, ‘खेल प्रतिभाहरुले नेपाल र नेपाली समुदायको इज्जत प्रतिष्ठा राखेका छन् तर हामी उनीहरुलाई कम प्राथमिकता दिइरहेका छौं ।’

ए स्टार फाइनान्सियल सोलुसन्स यूकेले यसअघि पनि बेलायतको नेपाली समुदायमा नियमित सचेतना कार्यक्रम गर्दै आएको छ । सामाजिक गतिविधि तथा च्यारिटी सहयोगलाई कम्पनीको प्रमुख सामाजिक उत्तरदायित्वमा राखेको उक्त कम्पनीले व्यवसायको निश्चित हिस्सा समुदायको हितमा खर्चेको छ ।

पछिल्लो समयमात्र उक्त कम्पनीले सगरमाथा गोर्खा नेपलिज कम्युनिटीको सामुदायिक भवन र अर्घाखांची समाज यूकेको प्रसुतिगृह निर्माणमा आर्थिक सहयोग गरेको छ । ओखलढुंगा नेपाली समाज यूके, मगर संघ यूके लगायत संस्थालाई पनि कम्पनीले सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री