एनआरएनए यूके सल्लाहकारहरुले दिए यस्तो सुझाव

लन्डन । एनआरएनए यूके सल्लाहकार परिषदको बैठक आइतबार भिलेज होटल 
फार्नबोरोमा सम्पन्न भएको छ । बैठकमा करिब दुई सय सल्लाहकारले विभिन्न सुझाव प्रस्तुत गरे । संघले सहभागी सल्लाहकारहरुबाट प्राप्त 
रचनात्मक सुझाव सल्लाह ग्रहण गरि त्यसको प्रभावकारी कार्यान्वयन गर्ने अठोट लिएको छ ।

झण्डै ५ घण्टा लामो सल्लाहकार परिषद बैठकपछि रयापोटरहरु नवीन पोखरेल, पूर्ण 
गुरुङ र नरेश खपांगीमगरले प्राप्त सुझावहरु १० 
बुंदामा उतारेका छन् ।

सहभागीहरुबाट प्राप्त मुख्य सुझाव यसप्रकार छ-
१. गोरखाहरुको समान पेन्सनसम्बन्धी मुद्दालाई कुटनीतिक हिसाबले पहल गरी यथाशक्य छिटो समाधान गर्न मद्दत गर्ने ।
२. एनआरएनए यूकेको शाखा विस्तार काउन्टीलाई आधार बनाइ गर्नुपर्ने र यूकेका सबै नेपालीलाई समेट्ने गरी संगठन विस्तार गर्नुपर्ने । सबै नेपाली संस्थाका अध्यक्षलाई पदेन सल्लाहकार चयन गरी उनीहरुलाई सदस्यता वृद्धि गर्ने ।
३. नेपाल हाउस प्रोजेक्ट हाम्रो सन्ततिको गौरवको योजना भएकाले यसलाई अगाडि बढाउनुपर्ने । नेपाल हाउस योजनालाई वेवसाइटमार्फत प्रभावकारी सूचना दिने र 
सञ्चालनका लागि स्थायी सचिवालय बनाउने ।
४. बेलायतका नेपाली समुदायमाझ र विशेषगरी वृद्धवृद्धाहरुमाझ स्वास्थ्यचेतना फैलाउने । नेपाल तथा बेलायतमा स्वास्थ्य शिविरहरु सञ्चालन कार्यक्रम गर्ने ।
५. एनआरएनए यूकेले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन योजना बनाउनुपर्ने ।
६. महिला तथा युवाहरुलाई एनआरएनए यूकेमा आवद्ध हुन उत्प्रेरणा दिने खालका कार्यक्रम ल्याउनुपर्ने । संस्थामा महिला प्रतिनिधित्व बढाउनुपर्ने । युवाहरुलाई शिक्षा र रोजगारका लागि कार्यक्रम ल्याउनुपर्ने ।
७. एनआरएन युकेलाई विद्युतीकरण गर्नुपर्ने । सदस्यता सधैं खुल्ला हुनुपर्ने र सदस्यता वितरण निर्वाचन हुनुभन्दा एक महिनाअघि बन्द गर्नुपर्ने ।
८. च्यारिटी कमिसनमा दर्ता भएका नेपाली संस्थाहरुलाई पदेन सदस्य कायम गर्ने
९. नेपाली नागरिकता बचाऔं अभियानलाई सहयोग र ऐक्यवद्धता जनाउने
१०. यूकेमा रहेका नेपालीले व्यक्तिगत र संस्थागतरुपमा नेपालमा शिक्षा स्वास्थ्य, पर्यटन क्षेत्रमा गरिरहेको सहयोगका बारेमा रेकर्ड राख्ने ।

कार्यक्रममा प्रमुख अतिथी एनआरएनए केन्द्रिय उपाध्यक्ष कुल आचार्य, एनआरएनए यूके संरक्षकहरु सूर्य गुरुङ, मुछेत्र गुरुङ, योगेन क्षेत्री र आइसीसी सदस्य रामशरण सिम्खडाले शुभकामना मन्तव्य दिंदै सल्लाहकारहरुलाई संघको उद्देश्य पुरा गर्न एवं यसको गरिमा तथा प्रतिष्ठा उंचो राख्न रचनात्मक सल्लाह दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा एनआरएनए यूके अध्यक्ष योगकुमार फगामीले एक ‘प्रिजेन्टेसन’ दिंदै आफ्नो नेतृत्वमा गत ९ सेप्टेम्बरदेखि संघले गरेका गतिविधिबारे विस्तृत जानकारी दिए । उनले बेलायतका चार राज्यमा समिति विस्तारका सिलसिलामा ‘नर्दन आयरल्याण्ड राज्य समिति गठन’ गरि सकिएको बताउंदै गठित अन्य विभिन्न उपसमितिले प्रभावकारी काम गर्ने अपेक्षा व्यक्त गरे ।

लन्डनस्थित नेपाली दूतावाससंग सहकार्य गरि अगाडि बढिएको, लन्डनमा प्रधानन्यायधिशको सम्मान, अक्टोबरमा विश्व सम्मेलनमा १५१ जना प्रतिनिधिमण्डलको सहभागिता, विश्व सम्मेलनका क्रममा उपराष्ट्रपति, सभामुख, कुलमान घिसिङलगायत राजनीतिज्ञहरु भेट गरेर संघका उद्देश्य र बेलायतमा नेपालीको अवस्थाबारे अवगत गराइएको उल्लेख गरे ।

उनले गोर्खा कपका बेला युवाहरुका लागि ‘ओपन डे’ गर्ने सोच रहेको बताउंदै नेपाल हाउस प्रोजेक्टलाई अलिक फरक मोडेलमा निरन्तरता दिइने सोच बनाइएको बताए ।

कार्यक्रमको शुरुमा महासचिव आर के त्रिपाठीले कार्यक्रम रुपरेखाबारे बताए । उपाध्यक्ष पुनम गुरुङले ‘हेल्थ एण्ड सेफ्टी’ सम्बन्धमा र स्वागत मन्तव्य 
दिइन् ।

कार्यक्रममा नवनियुक्त सल्लाहकारहरुलाई सर्टिफिकेट प्रदान गरि ढाका टोपीसहित बधाइ र शुभकामना दिइयो । साथै हालै लेफटिनेन्ट कर्णेलमा पदोन्नति भएका टोल खाम्चा मगर दम्पतिलाई एनआरएनए यूकेको तर्फबाट रिटायर्ड लेफटिनेन्ट कर्णेल याम रानाले विशेष सम्मान गरे ।

कार्यक्रममा उपाध्यक्ष प्रेम गाहामगरले आसन्न च्यारिटी, गोविन्द बेल्वासेले दोहोरो नागरिकता मुद्दा र भूपू गोर्खा अभियन्ता ज्ञानराज राईले गोर्खा आन्दोलनबारे बोलेका थिए । उक्त कार्यक्रम संयोजन तथा सञ्चालन प्रवक्ता रमेश सराङकोटीले गरेका थिए ।

तस्विर- शिव भण्डारी

प्रतिक्रिया

सम्बन्धित सामाग्री