डायमन्ड बुद्धिस्ट सेन्टर यूकेमा पुरानै तदर्थ समितिलाई निरन्तरता


लन्डन । डायमन्ड बुद्धिस्ट सेन्टर यूकेको प्रथम अधिवेशन तथा वार्षिक साधारण सभा २५ फेब्रुअरी २०१८, आइतबार प्लमस्टिड, लन्डनस्थित गेसो हलमा सम्पन्न भएको छ । अधिवेशनले पहिलेकै तदर्थ समितिका पदाधिकारीहरुलाई चयन गरेको जानकारी अध्यक्ष सुमलकुमार गुरुङले दिएका छन् ।

श्रीचन्द्र गुरुङ, हरिगोविन्द गुरुङ र केश गुरुङ रहेको तीन सदस्यीय निर्वाचन मण्डलले नयां कार्यसमिति चयन गरेको छ । जसमा पुनः अध्यक्ष सुमलकुमार गुरुङको नेतृत्वमा उपाध्यक्षद्वय हितमान गुरुङ, मिना गुरुङ, महासचिव योगेश गुरुङ, सचिव हेम छन्त्याल, कोषाध्यक्ष सूर्जा गुरुङ, सह-कोषाध्यक्ष सुशिल प्रजापति, प्रोपर्टी सचिव मन छन्त्याल तथा मण्डप सचिव चन्द्रप्रसाद गुरुङ सहित बढिमा २५ जना सदस्यहरु पछि थप गर्ने गरी नयां 
कार्यकारी समिति चयन गरिएको हो । शपथ ग्रहण पश्चात अध्यक्ष गुरुङले विधानले दिएको जिम्मेवारी वहन गर्ने प्रतिवद्धता सहित सबैलाई धन्यवाद दिए ।

दक्षिणपूर्व लण्डन क्षेत्रमा एउटा बौद्ध गुम्बाको आवश्यकता महशुस गर्दै यहांका नेपाली मिलेर सन् २०१६ मार्चमा डायमन्ड बुद्धिस्ट सेन्टर यूके गठन भएको थियो । शुरुमा नर्थ लण्डन, इज्लिङटनस्थित पल्युल सेन्टरलाई यस क्षेत्रमा सार्ने आश्वासन भएपनि कारणवस सो कार्य पूरा नभएकाले अब उपरान्त संस्थाकै पहलमा बौद्ध गुम्बा निर्माण गर्ने अभियान शुरु गरिएको अध्यक्ष गुरुङले बताए ।

औपचारिक कार्यक्रम संस्थाका महासचिव योगेश गुरुङले सञ्चालन गरेका थिए । संस्थाका अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न अधिवेशनमा संस्थाका उपाध्यक्ष हितमान गुरुङले स्वागत मन्तव्य दिए । एनआरएनए आइसीसी अनरेरी सदस्य मोहन गुरुङ, आरजीएनएसका अध्यक्ष हरिगोविन्द गुरुङ, बेक्सली हिथ नेपाली समाजका अध्यक्ष केश गुरुङ, समाजका सह-कोषाध्यक्ष तथा साउथ इष्ट लन्डन पासा पुच गुठीका अध्यक्ष सुशील प्रजापति, सचिव हेम छन्त्याल, सल्लाहकार राम गुरुङ तथा चन्द्रकला गुरुङले समेत शुभकामना सहित आ आफ्ना भनाइ राखेका थिए ।

अधिवेशनमा महासचिव योगेश गुरुङले संस्थाको प्रतिवेदन, कोषाध्यक्ष सूर्जा गुरुङले आय व्यय प्रतिवेदन र अध्यक्ष गुरुङले संस्थाको प्रारुप विधान प्रस्तुत गरेका थिए । सामान्य छलफल पश्चात सबै प्रतिवेदन र विधान सभाले अनुमोदन गरी पारित गरेको थियो । त्यसपछि अध्यक्षले धन्यवाद ज्ञापन गरी तदर्थ समिति विघटनको घोषणा गरेका थिए ।

पहिलो चरणको कार्यक्रम सकिए पश्चात बन्दसत्र राखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री