अतिप्रभावित १४ जिल्लामा एक लाख २३६ घर पुनःनिर्माणमा

भूकम्पको केन्द्र गोरखाको बारपाकमा निर्माण गरिएको भूकम्प प्रतिरोधी आधुनिक घर । भूकम्पअघि ढुङ्गाले छाएका घरहरु मात्र देखिने बारपाकमा भूकम्पपछि भूकम्प प्रतिरोधी घर बन्ने क्रमः बढदो छ । तस्बिर – प्रशन्न पोखरेल, गोरखा, रासस

काठमाडौँ, १४ फागुन – भूकम्प अतिप्रभावित १४ जिल्लाका ७० प्रतिशतभन्दा बढी लाभग्राही निजी आवास पुनःनिर्माण प्रक्रियामा संलग्न भएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ ।

आजसम्म प्राधिकरणमा प्राप्त तथ्यांकअनुसार भूकम्प अतिप्रभावित १४ जिल्लाका कूल छ लाख ६७ हजार ६६२ लाभग्राहीमध्ये छ लाख १० हजार ५०० भूकम्पपीडितसँग अनुदान सम्झौता भएको छ । सोमबारसम्म एक लाख २३६ घरको पुनःनिर्माण सम्पन्न भएको छ । तीन लाख ३२ हजार ३२१ घर पुनःनिर्माण भइरहेको प्राधिकरणका प्रवक्ता यमलाल भुसालले बताउनुभयो ।

पाँच वर्षको कार्यादेशसहित सरकारले २०७२ पुस १२ गते प्राधिकरणको स्थापना गरेको थियो । प्राधिकरणले निजी आवास पुनःनिर्माणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको छ । यही अनुपातमा आवास पुनःनिर्माणको काम अघि बढे आगामी वर्षात्अघि ६० प्रतिशत आवास पुनःनिर्माण भइसक्ने उहाँले बताउनुभयो ।

प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत युवराज भुसाल आवास पुनःनिर्माणको समयसीमा तोकिएको र प्राविधिकहरु स्थानीयस्तरमा परिचालन गरिएकाले आवास निर्माणले गति लिएको बताउनुहुन्छ ।

‘निर्माणकर्मी तालीम व्यापक रुपमा सञ्चालन गरिएको एवं निर्माण सामग्री तथा काठको आपूर्ति सहज भएकाले जिल्लामा घर बनाउने लाभग्राहीको संख्या उल्लेख्य रुपमा बढेको छ । वर्षात्अघि करिब ६० प्रतिशत लाभग्राहीलाई छानोमुनि ल्याउने लक्ष्य पूरा हुनेमा हामी विश्वस्त छौँ’- उहाँले भन्नुभयो ।

प्राधिकरणले जनप्रतिनिधि तथा लाभग्राहीसँग अन्तरक्रिया गरेर पुनःनिर्माणका लागि थप प्रोत्साहन गरिरहेको जनाएको छ । भूकम्प कम प्रभावित १८ जिल्लामा बनिसकेका र बन्दै गरेका घरको विवरण प्राधिकरणको केन्द्रीय सूचना प्रणालीमा समाविष्ट नभएकाले निर्माणाधीन र निर्माण सम्पन्न घरको संख्या अझै बढ्ने छ ।

कम प्रभावित जिल्लाका कूल एक लाख ४३ लाभग्राहीमध्ये अनुदान सम्झौता भएका ९० हजार ८५० को पछिल्लो तथ्याङ्क आउने क्रममा रहेको सूचना व्यवस्थापन तथा सञ्चार शाखाका प्रमुख मनोहर घिमिरेले जानकारी दिनुभयो ।

एकराज पाठक

पाठक राष्ट्रिय समाचार समिति (रासस) का प्रधानसम्पादक हुन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री