नेपालमा लगानीका अवसरबारे लण्डनमा अन्तरक्रियात्मक कार्यक्रम


लण्डन । नेपालमा लगानीका अवसरबारे लण्डनको वीलवीचमा एक अन्तरक्रियात्मक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । ब्रिटेन नेपाल चेम्बर अफ कमर्सले एनआरएनए यूके बिजनेस डेभलपमेन्ट विभागको सहकार्यमा आयोजना गरेको कार्यक्रममा नेपालमा विभिन्न क्षेत्रमा व्यवसाय सञ्चालन गरेका युवा उद्यमीहरुले ‘प्रिजेन्टेसन’ दिए ।

साउथ लण्डन एकेडेमी सभाहलमा गरिएको कार्यक्रममा डिएफआईडीकी प्रतिनिधि टेसा गड्ली पनि उपस्थित थिइन् । कार्यक्रममा सहभागी लण्डनस्थित तीन दर्जन बढि नेपाली व्यवसायी, एनआरएन तथा ईच्छुक लगानीकर्ताहरुमाझ नेपालमा व्यवसाय सञ्चालन गरिरहेका विभिन्न ६ कम्पनीका सञ्चालक तथा प्रतिनिधिहरुले पावर पोइन्ट प्रिजेन्टेसन गरेका थिए ।

कार्यक्रममा प्रिजेन्टेसन गर्नेहरु नौलो सोच र प्रविधि उपयोग गर्दै नेपालमा उदाहरणीय व्यवसायहरु सञ्चालन गर्न सफल भएका कम्पनीहरु हुन् ।

नेपालमा ट्याक्सी सेवा उपलब्ध गराउने कम्पनी सारथी, अनलाइन केक तथा गिफ्टको सेवा दिने अर्बान गर्ल, रुदिन एग्रीफ्लोरा नेपाल, त्रिपाठी ग्रुप, खड्का नर्सरी र इन्द्रदेवी स्ट्रवेरी फार्मसहितका ६ वटा कम्पनीका प्रतिनिधिले प्रिजेन्टेसन गरेका थिए ।

उनीहरुले प्रिजेन्टेसनमा आफ्ना व्यवसायहरुको अवधारणा, वर्तमान अवस्था, भविष्यका योजना र एक्सपान्सनको स्कोप, नयां लगानीकर्ताका लागि अवसर लगायत पक्ष समेटेका थिए ।

आफूहरुको व्यवसायमा महिला, विपन्न समुदाय तथा पिछडिएका वर्गका समेत सयौंले रोजगारी पाएको उनीहरुले जानकारी गराएका थिए ।

विभिन्न समस्या र परिस्थितिहरुमाझ पनि नेपालमा नौलो अवधारणामा उच्चतम प्रविधिको प्रयोग गर्दै व्यवसायहरु स्थापित गर्न सफल उद्यमीहरुले आफ्नो व्यवसायको थप एक्सपान्सनका लागि एनआरएनहरुलाई लगानी गर्न आग्रह गरे ।

कार्यक्रम संयोजन गर्ने ब्रिटेन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजन कंडेलले यी उद्यमीहरुको सोच, अवधारणा र उत्पादनबाट आफू निकै प्रभावित रहेको धारणा व्यक्त गरे । ‘नेपालको अर्थतन्त्रमा दीर्घकालिन रुपमा ठूलो मधत गर्ने यी कम्पनीहरुलाई तपाई हाम्रो साथ र हौसलाको खांचो छ’- यी व्यवसायहरुमा लगानीका लागि आव्हान गर्दै अध्यक्ष कंडेलले भने, ‘उहांहरुले सबै सेट गरिसक्नुभएको छ, के कस्तो सम्भावना छ भनेर पनि देखाइसक्नुभएको छ । त्यसकारण हामीहरु पनि ढुक्क भएर लगानी गरौं । हाम्रो लगानी सुरक्षित छ छदैंछ, यसबाट देशको अर्थतन्त्रमा ठूलो योगदान हुनेछ ।’

नेपालमा लगानीको लागि प्रोत्साहन गर्नु नै ब्रिटेन नेपाल चेम्बर अफ कमर्सको पहिलो प्राथमिकता रहेको भन्दै अध्यक्ष कंडेलले युवा उद्यमीहरुसंगको अन्तरक्रियाबाट एनआरएनहरुलाई नेपालभित्र रहेका अवसरहरुबारे थप बुझ्ने अवसर मिलेको विश्वास व्यक्त गरे ।

एनआरएनए यूकेका विजनेस डेभलपमेन्ट विभाग संयोजक सुरोज मास्केले कार्यक्रमका सहभागीलाई धन्यवाद दिदै नेपालमा लगानीका अवसरहरुबारे छर्लंग हुने अवसर कार्यक्रमले दिएको बताए ।

कार्यक्रमको अन्त्यमा सहभागी र उद्यमीहरुबीच अनौपचारिक अन्तरक्रिया समेत गरिएको थियो ।

केहि दिनअघि सेन्ट्रल लण्डनमा बेलायती व्यवसायी तथा लगानीकर्ताहरुमाझ समेत प्रिजेन्टेसन दिएका उद्यमीहरुको समूह बुधबार नेपाल फर्किदैछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री