यूसीएलको विद्यार्थी युनियनमा लड्दै खड्का


लन्डन । युनिभर्सिटी कलेज लन्डनमा पिएचडी अध्ययनरत गणेश खड्का उक्त विश्वविद्यालयको विद्यार्थी युनियन चुनावमा लड्ने भएका छन् । खड्का सम्भवत विश्वविद्यालयमा १२५ वर्षको युनियन इतिहासमा पहिलो पटक नेपाली विद्यार्थीका रुपमा उठ्न लागेका हुन् ।

‘वेलफेयर एण्ड इन्टरनेशनल स्टुडेन्ट अफिसर’ का लागि खड्का मैदानमा उत्रिएका छन् । अनलाइन भोटिङ भोलि १ मार्चबाट शुरु हुने र अन्तिम नतिजा ८ तारिख आउने खड्काले बताए ।

४० हजार भन्दा बढि विद्यार्थी अध्ययनरत उक्त विश्वविद्यालयमा हुन लागेको चुनावी प्रतिष्पर्धामा खड्काले अन्तर्राष्ट्रिय विद्यार्थीका हक हित र ‘पोस्ट स्टडी वर्क’ हुनुपर्ने जस्ता मुल मुद्दा उठाएका छन् ।

उनले यूसीएलमा अध्ययनरत नेपाली विद्यार्थी र बेलायतको नेपाली समुदायलाई समेत आफ्नो चुनावी अभियानमा भौतिक तथा सम्भव भए आर्थिक सहयोग गरिदिन अपिल गरेका छन् ।

‘मेरो जित भएमा यो समस्त नेपालीको प्रतिष्ठा र गर्व लायक विषय हुने भएकाले सामूहिक अभियानकै रुपमा यसलाई अगाडि बढाइदिन मेरो विनम्र अनुरोध छ’, खड्काले भने, ‘कोही विद्यार्थी फूर्सदिलो भए आएर अभियानमा सघाइदिएमा म आभारी हुने थिएं ।’ आफ्नो अभियानको ब्यानर, पोस्टर र पम्पलेट बनाएर प्रचार प्रसार गरिदिन उनले अपिल गरेका छन् ।

तर, चुनाव आफैंमा चुनौतिपूर्ण भएको उनले बताए । प्रतिष्पर्धीहरु चाइनिज, रसियन र ब्रिटिश विद्यार्थी भएकाले चुनाव आफैंमा निकै चुनौतिपूर्ण भएको उनी बताउंछन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री