यतिखेर गरमागरम तातेको छ बेलायतको नेपाली समाज । बुद्ध नेपालमा जन्मेका हुन् र विश्वभर यसको जानकारी हुनुपर्छ भनेर केही समूह बेजोडले अग्रपंक्तिमा आइरहेको देखिन्छ । तर, कठै ति विचराका पात्रहरु बेहोसीमा बचेका नेपाली सन्तानलाई होस् छैन बुद्धले मानव सभ्यतामा के छाडेर जानुभयो र उहांले छाड्नु भएका मार्गका कति बटुवाहरुले जीवन मुक्ति प्राप्त गरे भनेर ।
बाहिरी संसारका भागदौडका खेलाडीहरु हामी, बुद्धलाई हेर्ने र देख्ने हामीसंग आ आफ्नै किसिमका दृष्टिहरु छन् । उल्टो दृष्टिधारीहरु बुद्धलाई अल्छी भन्न पनि पछि पर्दैन रहेछ भन्ने पाएं । तर, बुद्ध एक धुमिल कुवा होइन बिराट समुन्द्र हो, बिराट ब्रम्हाण्ड हो, अस्तिस्व हो, यो साझा हो, सृष्टिका करुणा निदान, करुणामयी, समता दृष्टि हुन्, शान्तिका दूत हुन् ।
बुद्धले निर्माण गर्नु भएको पञ्चशीलको एक मात्र शील बुझेर पालना गरेका हामी कति छौं कुन्नि, म भन्न र गन्न सक्तिन । यो मेरो दृष्टिको दोष हो कि समाजमा घटेका घटना र परिघट्नाहरु छापिने अक्षरहरुको दोष हो । पत्रिकाका हरफहरु त्यस्तै लेखिने गर्छन् । बलात्कार, चोरी, हिंसा, भ्रष्टाचार आदि इत्यादि । यी सब धन दौलत, संसारमा छाडेर जाने सम्पत्ति हुन् । आफूसंग लाने त इश्वरीय परम मिलन मात्र हो । हामी बाहिरी संसारमा खुशी खोज्दै हिड्छौं । खुशी आफैंभित्र निर्माण गर्ने हो र खुशी अन्तर्निहित भाव हो । यो हामी भित्र छ । राम्रो म मात्र जान्ने र बुझ्ने अज्ञानतामा ग्रसित हामी एक रोगी हौं । त बाट तराजु मात्र बुझ्यौं, जोख्ने र जोखाउने । त बाट तिमी, तपाईं पनि हुन्छ भन्ने भुसुक्कै भुल्यौं । राम्रो म को वरिपरि म ठिक, म राम्रो, मेरो इच्छा, मेरो रहर, मेरो को घेराबाट हामी टाढा पुग्न सकेनौं । त्यही धमिलो कुवामा बुद्ध बन्न सक्ने आत्मालाई आफ्नो दीप आफैं बन्न सकेनौं । लोभ, लालच, व्यभिचारी, ठगी, घमन्ड, रिस राग, इष्र्या सबै नकारात्मक उर्जा बोकेर बुद्धको गीत गाउनु हांस्यास्पद ढोंग मात्र हुन् ।
मेरो हजुरआमा भन्नु हुन्थ्यो आत्मा र परात्मा चिन्नु । म बुझ्थिन तर आज आज जब बुद्धको कुरा उठ्न थाल्यो, खोजीको लागि मन, मस्तिष्क, आत्मा र अक्षरहरु एक साथ भए । उहांको अर्थ रहेछ आफूलाई जस्तो चाहना, रहर, इच्छा हुन्छ त्यही चाहना अरुलाई पनि हुन सक्छ । मलाई दुख्दा उसलाई पनि दुख्छ, मेरो आत्मा जे चाहन्छ अरुको आत्मा पनि त्यही चाहन सक्छ भन्ने उहांको मान्यता रहेछ । मलाई लाग्छ म बाट बाहिरिन, निस्कन सक्यौं भने सायद पानीमा जम्ने लेउ होइन, हिलो बाट निस्कने एक सुन्दर मनमोहक कमलको फूल हुन सक्छौं ।
बुद्ध दरबारका मोह, सुखसयल, मोज मस्ती, लोभ लालच त्यागेर खुल्ला आकाश मुनी सत्यको खोजीमा छ वर्ष बिताउनु भयो । बाहिरी आंखा बन्द गरि भित्री आंखा खोल्नु भयो । धर्मलाई आधुनिकीकरण गर्नु भयो । बैज्ञानिकता दिनु भयो जुन आज हरेक आधुनिक सभ्यताका मान्छेहरु जब तनाव हुन्छ अनि ध्यानमा जान्छन् । ध्यान गर्न थाल्छन् । यो विशेष गरेर चुनौती, तनाव पूर्ण समाजमा बुद्धले निर्माण गर्नु भएको मार्गमा मुक्तिको बाटो मात्र नभई आत्मा रक्षा, आत्मा अनुभूति, आत्मा शान्तिको मार्ग पनि बनेको छ आज ।
बुद्ध असिमित क्षितिज हुनुहुन्छ, अटल सूर्यको उर्जा हुनुहुन्छ । हरेक सृष्टिको प्राणदायिनी हावाका मन्द झोका हुनुहुन्छ । हरेक मानवको मुस्कान हुनुहुन्छ, असंख दीप जलाउने अटल महादीप हुनुहुन्छ । बुद्ध एक टोकरीमा राख्ने एक मुर्ती होइन मानव ह्दयको भाव हो, भावना हो, एक कविता हो, करुणाका खानी, प्रेमको दीयो, सृष्टिका रक्षक, मानवताका संरक्षक, समानताका वकालत, रुढीवादी संस्कारका विरोधी हुनुहुन्छ । जसरी पुष्पको खुश्बुलाई एक बाकसमा बन्द गरेर राख्न सकिन्न अवश्य असिमित घेरामा नरही सुगन्ध प्रदान गर्छ । बुद्ध त्यही हुनुहुन्छ, असिमित घेराभित्र रहनु हुन्न । देश, जाति, धर्म, रंग, मौसम कसैको पनि म र मेरोमा अट्ने अटाउने निजत्व कुनै बाद होइन, विराट सागर हुनुहुन्छ । चेतनाको महाचेतना हुनुहुन्छ । हरेक सुन्दर रचनाका सुन्दर भाव हुनुहुन्छ । संगीतका मधुर धुन हुनुहुन्छ ।
धर्म सिक्ने सिकाउने कुनै विषयबस्तु होइन । परम ह्दयस्पर्शी एक भाव हो । प्रेम भाव, करुणाभाव, सम्मान समता देख्न सक्ने दृष्टिभाव हो । चेतनाको द्वारको, विराट अस्तित्व संगको परम मिलन हो । जीवन यात्राको महाजीवन यात्रा हो । धर्म पानीको थोपाको सागरको खोजी हो । कुनै जातीय, धार्मिक व्यापार होइन, एक आत्माको अर्को आत्माप्रतिको प्रेम, सम्मान हो । रिस डाह होइन्, केवल विशुद्ध प्रेमिल भाव हो । वैमनस्यता होइन् वसन्तको सुन्दरतम दृश्य हो । उषाको किरण हो, कोइलीको मधुर कण्ठ हो, नदीको मन्द छाल हो, चौतारीको बटुवाको विश्राममा आनन्दको भाव हो । प्रसव पीडा पछि सन्तानको निश्छल मुस्कान देख्दा छचल्किएको मातृबात्सल्य भाव हो । अनगिन्ती तारा पुन्जको चम्किला चमकको शब्दमा उतार्न नसकिने सुन्दरतम दृश्य हो । त्यसैले सृष्टिको महासृष्टि बुद्ध हुन्, विराट अस्तित्व हुन् ।
बुद्ध नेपालमा जन्मेका भनेर गर्व मात्र होइन, हामी त्यो भाग्यममानी हौं, उहांले बनाउनु भएको मार्गको अस्तित्व बुझौं, खोजी गरौं, हामी हरेक मानव बुद्ध बन्न सक्ने सम्भावना बोकेका सम्भावित बुद्धहरु हौं । संसार कति स्वतन्त्र छ जे खोजी गरयो त्यही मिल्छ । केवल खोजीमा भर पर्छ । बासनाको खोजी गरौं त्यही मिल्छ । धनको खोजी गरयो त्यही मिल्छ । परम सत्यको खोजी गरयो त्यही मिल्छ । जसरी बुद्ध, महावीर, ओशो सत्यको खोजीमा मार्ग चयन गर्नुभयो । विराट सत्य र विराट जीवन प्राप्त गर्नुभयो । संसार अवसर हो, जीवन मुक्तिको, निर्वाण प्राप्तिको, जन्म र मृत्युबीचको अवसर हो । दिवार खोलौं, खुल्ला राखौं, सूर्यको किरण अवश्व घर भित्र छिर्छ, घरका कुना कुना प्रकाशमय हुन्छ ।
दुःख लाग्छ गाई काट्ने विषयमा यति ठूलो विवाद देख्दा । हामी कति ढोंगी छौं, बुद्ध हाम्रो देशमा जन्मेको भनेर ढोल पिटाउछौं । गाई काट्ने विषयमा सिन्दुर जात्रा गर्छौं । बुद्ध आफ्नो जीवन भर हरेक प्राणीको रक्षाको निमित्त बोल्नु भयो । शिल निर्माण गर्नुभयो, अहिंसाको पाठ र ज्ञान बांड्नु भयो । हरेक प्राणी इश्वरका सृष्टि हुन्, हामी लाई यस धर्तीको जति अधिकार छ, हरेक प्राणीलाई त्यति नै अधिकार छ । हरेक प्राणीलाई मृत्युको डर छ, बाघले जब एक हरिणलाई छोप्न खोज्छ, मृत्युको डरले यति भाग्छ सकेसम्म प्राण बचाउन खोज्छ । मृत्युको डर कसलाई हुंदैन र ? यस साझा पृथ्वीको निर्माण र रक्षा गर्ने हरेक चेतनशील प्राणीको कर्तव्य हो ।
आउंदै गरेको बुद्ध जयन्तीको दिनमा नेपालीहरुको ट्राफलगर स्क्वायरमा हुन गइरहेको कार्यक्रमको सफलताको कामना गर्न चाहन्छु र हरेक मानवमा बुद्धत्व भावको निर्माण होस्, चेतना जागोस्, पञ्चशीलको बाटोमा हिंड्ने प्रेरणा मिलोस्, शान्ति, सद्भाव, प्रेम, अहिंसाको मार्गमा पाइलाहरु बढुन् । यस धर्तीमा प्रेमिल भावको बृष्टि होस्, सुन्दरतम सृष्टि होस् । ‘बुद्धम शरणं गच्छामी, धम्मं शरणं गच्छामी, संघम शरणं गच्छामी’ ।